बागलुङ, २५ मंसिर– गलकोटस्थित हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालको रुपमा परिणत गरिएको छ ।
नगरपालिकको कार्ययोजनामा समेटिएको योजनाअनुसार बुधबार गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले अस्पतालको उद्घाटन गरे । उनले जनतालाई घरदैलोमा स्वास्थ्य सेवा दिने काममा गण्डकी प्रदेश सरकार निरन्तर खटिएको बताए ।
यो स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाउने नगरको योजना छ । गलकोट नगरपालिका, वडा र प्रदेश सरकारको आर्थिक सहयोग जुटाएर निर्माणाधिन भवनमा अस्पताल थालनी गरिएको हो ।
यो अस्पतालले नगरको स्वास्थ्य सपना पुरा गर्नमा साथ मिलेको उपप्रमुख रेणुका काउचाले बताइन् । उनले सबै वडामा स्वास्थ्य सेवा प्रवाह गर्ने र नगरस्तीय अस्पतालमा सबै प्रकारका समस्या समाधान गर्ने गरी दक्ष जनशक्ती राख्ने योजना सुनाइन् ।
यस्तै, बुधबारदेखि हरिचौरस्थित आ“खा उपचार केन्द्रमा कोरोना अस्थायी अस्पताल संचालनमा ल्याइएको छ । ५ शैयाको कोरोना अस्थायी अस्पताल सरकारी मापदण्ड अनुसार चल्नेछ ।
हरिचौरको यो नगर अस्पताल गलकोट नगरपालिकाबाहेक ताराखोला गाउँपालिका क्षेत्रका उपभोक्ताका लागि पनि महत्वपूर्ण रहेको गलकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए । उनले अबदेखि नियमित डाक्टरसहितका दक्ष जनशक्ती रहने व्यवस्थापन गरिने समेत बताए । नगरपालिकाले पनि आबस्यक दरबन्दीकालागि पहल गरेको प्रमुख भरत शर्मा गैरेले बताएका छन् ।
पुराना भवन जीर्ण भएकोले ७ करोड १० लाख रुपैया“ लगानी गरेर अत्याधुनिक अस्पताल भवन निर्माणाधिन छ । यहा“ अघिल्लो आर्थिक वर्ष मात्रै ७ हजार ३ सय ९८ बिरामीको उपचार भएको तथ्यांक छ । ‘भवन अभावले बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने बाध्यता थियो, अब भवनसमेत बनिसक्न लागेकोले सहज हुनेछ’ मल्लले भने, ‘काम सकिएपछि थप व्यवस्थापनमा नगरपालिकाले लगानी गर्नेछ ।’
नगरपालिकाले सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्था नियमित आउनेलाई ४ हजार ५ सय रुपैया“ भत्ता दिने निर्णय गरेपछि गलकोटका स्वास्थ्य संस्थामा सुत्केरी हुनेदर बेको छ ।
अस्पताल उद्घाटन गरेका मन्त्री लम्सालले बुधवारै गलकोटस्थित कोटमैदान, कोटमन्दिर र सहश्रधारा झरना अबलोकन गरेका थिए । पर्यटकीय रुपमा महत्वपूर्ण यी स्थानको पूर्वाधार निर्माणमा पर्यटन मन्त्रालयले पनि लगानी गरेको छ ।
गतवर्ष सहश्रधारा झरनामा क्यानोइङ मेलासमेत गरिएको थियो । ती स्थानसम्म पुग्नका लागि प्रदेश र स्थानीय सरकारका बजेट परिचालन भएको छ । सहज पहुँच बढेपछि ती स्थानमा पर्यटक बढ्ने गैरेले बताए ।





