बागलुङ, २६ मंसिर– कोरोना संक्रमण र लकडाउनको समस्या भएपनि गर्भवती र सुत्केरी महिलाको पोषणलाई कमी हुन नदिन स्थानीय पालिकाले खेलेको भूमिका महत्वपूर्ण भएको सहभागिले बताएका छन् ।
लामो समय लकडाउनको समस्या पर्दा नियमित पोषणयुक्त खानामा प्रेरित गर्ने, वडा तहसम्म पोषणयुक्त खानेकुरा वितरण र पोषणको क्षेत्रमा काम गर्ने संस्थाले नियमित भेटघाट अभियानलाई निरन्तरता दिएका थिए । नियमित अनुगमन र भेटघाटबाट संक्रमणको बेला पनि बालबालिका कुपोषण हुनबाट जोगिएको, १ हजार दिनका आमाहरुको पोषणमा पनि कमी नआएको अध्ययनले देखाएको सहभागीले बताए ।
सुआहारा कार्यक्रमले बिहिबार गरेको वार्षिक समीक्षा कार्यक्रममा हरेक पालिकाका सबै घर घरमा पुगेर पोषणको अवस्था बुझ्ने काम गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका कार्यकारी निर्देशक प्रमानन्द कंडेलले बताए । फाउण्डेसनले जिल्लाभर अहिले पनि सुआहारा कार्यक्रम संचालन गरिरहेको छ ।
समीक्षा कार्यक्रमको अवसरमा सबै पालिका तहमा भएको क्रियाकलापको प्रस्तुतीकरण भएको थियो । प्रस्तुतीमा ढोरपाटनको पहिरो पीडितमध्ये विस्थापित महिला, बालबालिका र सुत्केरीको पुनस्थापनामा कठिनाई भएको बताइएको थियो । विभिन्न संस्थाले सहयोग गर्दा पोषणको मात्रा नपुगेकोले फाउण्डेसन र कार्यक्रमले अत्यावस्यक सामाग्री वितरण गरेको थियो । कुनैपनि महिलाको गर्भ रहेदेखि शिशु जन्मेको २ वर्षसम्म पोषणयुक्त खानेकुरा खान पाएमा मात्रै बालबालिकाको बौद्धिक, शारीरिक र मानसिक अवस्था स्वस्थ्य रहने विज्ञहरुको सुझाव छ ।
बिहिबार भएको समीक्षामा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ, पोषण पुनस्थापना केन्द्रका संयोजक सुशान्त आचार्यलगायतले हरेक क्षेत्रका कर्मचारी र संघसंस्थाले जागिरे मात्र नभइ देशको पोषणको अबस्था सुधार गर्दै स्वस्थ्य नागरिक उत्पादनमा जोड दिने काममा पहल गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममार्फत नियमति गर्भ जाँच, सुरक्षित सुत्केरीका लागि परामर्श, बालबालिकाको पोषणको अवस्था नियमितता गर्ने, पोषण खानाका लागि प्रेरित गर्ने, घर भेटघाट, नमूना किसान छनौट गरेर व्यवसायिक रुपमा कृषि तथा कुखुरापालनमा सहयोग गर्नेलगायतका काम कार्यक्रमले गर्दै आएको छ । यो कार्यक्रम शुरु भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको सुआहारा परियोजनाकी अधिकृत टिका उप्रेतीले बताइन् ।





