
काठमाडौं, २७ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टी कै काँधमा भएको बताएका छन्। नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टी भित्र चल्ने बहस र छलफल त्यही समाजवाद तिरको यात्राका लागि हुन्’, प्रचण्डले भने, ‘समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको बताए । ‘यो बेला पक्कै पनि चुनौतिहरु आउँछन् । ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिस्ट पार्टी भित्रै छ’ , उनले थपे, ‘कम्युनिस्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं ।’
नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए । ‘मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन्’, नेता नेपालले भने, ‘मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।’
पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली कांग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताए । उनले देशमा आएको जाति, लिंग र समुदायमा आएको परिवर्तन कम्युनिस्ट पार्टीले नै ल्याएको दाबी गरे ।
काठमाडौं महानगरपालिकाको नेपाली कांग्रेसको नगर सदस्य रहेकी उनी विगतमा नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध थिइन । २०६२/०६३ सालको आन्दोलनमा चार पटक हिरासत पुगेकी उनी दोस्रो संविधानसभाको निर्वाचनमा संविधानसभा सदस्य बनेकी हुन् ।





