बागलुङ, १ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको सहयोगमा धौलागिरी अस्पतालमा निर्माण भएका अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अनुगमन निरीक्षण गरेका छन् । मंगलबार पत्रकार महासंघ बागलुङको १२ औं साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्न बागलुङ आएका गुरुङले अस्पतालको अनुगमन निरीक्षण गरेका हुन् ।
उनी साँझ अस्पताल पुगेका थिए । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङले आधारभुत तहको स्वास्थ्य सेवाबाट कोहीपनि बञ्चित हुन नुहुने बताए । गुरुङले कोरोना संक्रमित भएर आइसोलेसन तथा आइसीयूमा रहेका बिरामीको अवस्था सिसीटिभी मार्फत निरीक्षण गरेका थिए ।
गुरुङले अस्पतालको व्यवस्थापनमा भैरहेको सुधारले आँफु सन्तुष्ट रहेको भन्दै जनशक्तिको व्यवस्थापनका लागि प्रदेश सरकार गम्भिर रहेको बताए । उनले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गरे ।
अस्पतालमा हाल तीन आइसीयू, दुई भेन्टिलेटर र २५ शय्याको आइसोलेसनकक्ष रहेको छ । गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने लक्ष्यअनुरूप काम भइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।





