बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाँच सय रोपनी खेतबारी बगरमा परिणत : बाढीपहिरो पीडितले खोज्न थाले विज्ञको टोली

पाँच सय रोपनी खेतबारी बगरमा परिणत : बाढीपहिरो पीडितले खोज्न थाले विज्ञको टोली

कहिले हुन्छ भौगर्भिक अध्ययन ? ८१ वटा बस्ती स्थानान्तरण गर्न सिफारिस


  • हरिकृष्ण गौतम
  • पुष २ २०७७, बिहिबार

बेनी, २ पुस– म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले दुवाडीका मनबहादुर छन्त्यालको घर नजिकै रहेको फाँटको खेतीयोग्य जमिन बाढीपहिरोको कटानले बगरमा परिणत भयो। बस्ती माथिबाट रातोपानी पाखाबाट खसेको पहिरोले मनप्रसादसँगै निलप्रसाद छन्त्याल, मंगली विक, कर्मान छन्त्याल, चन्द्रबहादुर छन्त्याल,मनिप्रसाद छन्त्याल लगायत २१ घरपरिवारको ५ सय रोपनीमा लगाइएको आलु लगायतका अन्नबाली नष्ट भयो । मनप्रसाद र निलप्रसाद बाबुछोरा हुन् । अघिल्लो रातसम्म खेतका फाँटमा काम गरेका स्थानीयले गएको असार महिनाको २७ गते रातीको अबिरल बर्षासँगै खसेको पहिरोले खेतीबारीसँगै तीनवटा पशुचौपायाको गोठ समेत बगायो। ‘बाढीपहिरोले खेतबारी पुरिदियो,‘अबखेतीपाती गर्ने जमिन पनि छैन’मनप्रसाद छन्त्यालले भने। उनका अनुसार करिब २ सय रोपनी जमिन नै पहिरोले पुरिदिएपछि हातमुख जोड्ने समस्या भएको बताए ।दुवाडी गाउँमा बाढीको जोखिममा रहेका करिब ७ घरधुरी समेत बैकल्पिक बासस्थानको खोजीमा रहेका छन्। आलु खेतीका लागि पकेट क्षेत्र मानिने दुवाडीका स्थानीयको खेतीबारी नै बाढीपहिरोले बगाएपछि बगरबाटै आवत–जावत गर्ने गरेका छन्। ‘खेतबारी बगरमा परिणत भयो,‘अब छाक टार्न पनि मुस्किल हुन्छ’ स्थानीय मंगली विकले भनिन्। स्थानीयले बस्ती माथिबाट अझैपनि पहिरोको जोखिम रहेको बताए । यता वडा अध्यक्ष गमना छन्त्यालले गाउँका अधिकांसको एकैठाउँमा रहेको खेतबारी बाढीपहिरोले पुरेपछि समस्या भएको बताए। ‘सुरक्षित स्थानमा पुर्नवास नै प्रमुख प्राथमिकता हो,‘बगर आसपासका क्षेत्रबाट विस्तारै बस्ती हटाउँछौ’ वडा अध्यक्ष छन्त्यालले भने।वडाभित्रका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो असर गरेको बताउँदै समस्या समाधानका लागि पहल भइरहेको बताए । बाढीपहिरोबाट विस्थापितको पुर्नवासलाई अर्को बर्खाभित्र सम्पन्न गर्ने उनले बताए ।
गाउँ माथिको जमिन भाँसिदा…
कुईनेमंगलकै चौरखानीमा बस्तीमाथिको भिरमुनीको जमिन भासिएको वरपर १४ घरधुरी उच्च जोखिममा छन्। खेतीपाती लगाएको जमिनमा भ्वाङ परेको छ । हिउँदको समयमा पनि पहिरोको जोखिमले विस्थापित हुनु परेको छ । रातको समयमा चर्किएको घरका बासिन्दा आसपासको क्षेत्रमा रहेको भवनमा बस्दै आएका छन्। बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी डेढ सय रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको चौरखानी टोल सुधार समितिका संयोजक रामप्रसाद छन्त्यालले बताए। उनले बर्खामा भन्दा थप जोखिम बढेको बताउँदै तत्काल संरक्षणको पहल गर्न अनुरोध गरेका छन् । स्थानीयले आफ्नै जमिनमा नयाँ संरचना बनाउन गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीसँग भौगर्भिक अध्ययन गर्ने विज्ञको टोली पठाउन समेत माग गरेका थिए । गाउँपालिका अध्यक्ष भण्डारीले जिल्ला विपद् ब्यवस्थापन समितिसँग सहकार्य गरी छिट्टै टोलीसँगै आउने प्रतिबद्धता जनाए । उनले स्थानीयले छनौट गरेको तीनवटा स्थानमध्ये उपयुक्त स्थानमा गाउँपालिकामार्फत प्रदेश र संघीय सरकारलाई बजेट माग गरी संरचना बनाउने बताए ।
कहिले हुन्छ भौगर्भिक अध्ययन ?
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन सुरु गरेपनि विपद्मा ठूलो जनधनको क्षती भएको म्याग्दीमा भने विज्ञको टोली परिचालन गर्ने कुनै सुरसार देखाएको छैन् । बाढीपहिरोबाट ठूलो जनधनको क्षती हुने जिल्लामा पर्ने म्याग्दीलाई विपद् सङ्कटग्रस्त क्षेत्रको सूचीमा समेत नराखेपछि चौतर्फी आलोचना भइरहेको अवस्थामा प्रवासी म्याग्देलीले पुर्नवास अभियानमा आर्थिक जुटाएपनि विज्ञको टोली नआउँदा पुर्नवासको अभियान नै प्रभावित भएको छ । असार महिनाको २५ गते बाढीपहिरोले विस्थापितको पुर्नवासमा आवश्यक पर्ने जग्गाको ब्यवस्थापन सहित पुर्नबासका लागि स्थानीय तहले भौगर्भिक अध्ययन टोलीको पखाई रहेको बताएका छन् । स्थानीय तहले पुर्नवासका लागि सम्भावित स्थानको पहिचान गरेपनि प्रभावकारी काम गर्न सकेका छैनन् । विस्थापितहरुले बसोबासका लागि सुरक्षित स्थानको भौगर्भिक अध्ययन हुने प्रजिअ उमाकान्त अधिकारीले बताए । ६ वटै स्थानीय तहको पहिरोग्रस्त क्षेत्र अध्ययनका लागि बस्तीहरु समेत छनोट गरिएको बताए ।
८१ वटा बस्ती स्थानान्तरण गर्न सिफारिस
पहिरोबाट अति प्रभावित ८१ वटा बस्तीका एक हजार ८६ घर पुननिर्माण र स्थानान्तरणका गर्न सिफारिस गरिएको छ । गत असार महिना यताको पहिरोका कारण पूर्ण क्षति भएका घर पुननिर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । पूर्णरुपमा विस्थापित भएका, जोखिमयुक्त बस्ती स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणका लागि विज्ञको टोलीको स्थलगत अनुगमन, माटो परीक्षण, बजेट मुख्य चुनौति बनेको छ। पहिरोले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुननिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस भएको छ । धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर, अन्नपूर्णका ८ वटा बस्तीका १३७ घर, मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुननिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । यसबर्ष म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् भने अरवौंको भौतिक संरचनामा क्षती पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->