बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘विद्यालयको भवन बनाउन ठेकेदार खोज्ने प्रवृत्ति गलत’

‘विद्यालयको भवन बनाउन ठेकेदार खोज्ने प्रवृत्ति गलत’


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बेनी, ३ पुस– बजेट अभावका कारण भूकम्पबाट क्षति भएको विद्यालयको जीर्ण भवनको पुनर्निर्माणमा ठेकेदारलाई प्रोत्साहन नगर्न सरोकारवाला निकायले सुझाव दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले भवन पुनर्निर्माणमा संलग्न उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विद्यालय भवन पुननिर्माणका लागि प्रयाप्त बजेट भएकाले ठेकेदारलाई प्रोत्साहन गरी नाफा कमाउने वातावरण नबनाउन अनुरोध गरेका छन् । ‘भवनलाई गएको पैसा विद्यालयले नाफा आर्जन गर्ने होइन’, उनले भने,‘गुणस्तरीय काम हुनुपर्छ ।’ भौतिक पूर्वाधारको बिस्तारले गुणस्तरीय शिक्षाका लागि सहज हुने प्रमुख केसीको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ठेक्का दिएर कमशल रुपमा विद्यालय भवन निर्माण गरेको भन्ने गुनासो आएको बताए ।२०७२ सालको विनाशकारी भूकम्पका कारण भत्किएका विद्यालय पुनर्निर्माणमा गुणस्तरहीन काम गरेको गुनासो समेत आउन थालेको बताउँदै पूर्वाधारको बजेटमा ठेकेदारको मुनाफा खोज्ने प्रयास भए अनुगमन हुने बताए ।उपभोक्तामार्फत् गुणस्तरीय भवन निर्माणको विश्वासका साथ प्रअ र व्यवस्थापन समिति सँग सम्झौता गरेर बजेट पठाएकाले त्यही अनुरुप काम गर्न प्रजिअ अधिकारीले अनुरोध गरे । भूकम्पले क्षति पुगेका कक्षा कोठा,शौचालय भवन र खानेपानीका संरचना पुनर्निर्माण कार्यलाई गुणस्तीय बनाउन सघाउने उद्देश्यले बेनीमा बुधवारदेखि तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा निर्माणधीन ३४ विद्यालयका उपभोक्ता समितिका पदाधिकारी,प्रअ र निर्माणमा सहभागि मजदुरहरुको सहभागिता रहेको छ । आयोजनाका प्रमुख तुलाराज चौलागाईले कार्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए । उनले हालसम्म २८ करोड ५२ लाख रुपैयाँको लागतमा २४ वटा ४ कोठे,२२ वटा २ कोठे,९ वटा ३ कोठे गरी ५५ वटा भवन पुननिर्माण भइसकेको जानकारी दिए । यसैगरि चालु आर्थिक वर्षमा ३७ वटा ४ कोठे,३ वटा ३ कोठे,१० वटा २ कोठे भवन,२८ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माधिन अवस्थामा रहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन कार्यालयका इन्जिनियर विष्णु रिजालले गरेका थिए । विद्यालयको भवन अपांगमैत्री, वातावरणमैत्री, बालबालिकामैत्री रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->