बागलुङ, ८ पुस– तीन वर्षअघिसम्म तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका महिलाले सुरक्षित सुत्केरीको अवसर पाएका थिएनन् । केहीले समयमै बुर्तिवाङ झरेर एक हप्तादेखि डेरा लिएर बस्नुपथ्र्यो । काम विशेषले अधिकांसले जोखिम मोलेर घरमै सुत्केरी हुन्थे ।
यसरी सुत्केरी हँुदा शिशुमृत्यु दर बढी थियो । अत्याधिक रक्तश्राव भएपछि कतिपय महिलाको उपचारका लागि डोकोमा बोकेर लैजाँदा मृत्यु हुने गरेको थियो । तर पछिल्लो समय यो क्रम फेरिएको छ । अब यहाँका कुनैपनि वडामा घरमा सुत्केरी हुनै नदिने अभियान सुरु भएको हो । स्वास्थ्यकर्मीले आँफै खोजेर गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षणमा ल्याउने गरेका छन् ।
‘को गर्भवती छ भनेर थाहा पाएपनि नियमित परीक्षणमा ल्याउने गरेका छौं’ नर्जाखानी सामुदायिक स्वास्थ्य इकाइकी अनमी रन्जना घर्तीले भनिन्, ‘जटिल समस्या आउने अवस्था देखिएमा सुरक्षित स्थानमा रिफर गराएका छौं ।’ समयमै सुरक्षित स्थानमा पुगेर सुत्केरी गराउन सहजीकरण गरेको उनले बताइन् ।
तमानखोला गाउँपालिका वडा नं. ६ को नर्जाखानी, ५ को खुंखानी सहित ग्रामीण बस्तीमा उपकरणको व्यवस्थापनसहितका बर्थिङ सेन्टर खुलेको हो । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी थपेर सामुदायिक स्वास्थ्य इकाइमा पनि सुत्केरी गर्न सकिने व्यवस्था गरेको हो । यो अभियानमा भीमापोखरा युवा क्लबले फेयरमेडको आर्थिक सहयोगमा संचालन गरेको सामुदायिक ग्रामीण स्वासथ्य कार्यक्रममार्फत सेवा संचालनका लागि उपकरण सहयोग गरेको हो ।
‘भवन र जनशक्ती भएर पनि सुत्केरी गराउने उपकरण, सुरक्षित बेड, सरसफाई सामाग्रीजस्ता समस्या थिए, त्यसमा हामीले साथ दिएका छौं’ परियोजनाकी कार्यक्रम अधिकृत जानकी पाठकले भनिन्, ‘यो सहयोग अभियानले सुरक्षित सुत्केरी अभियानमा साथ दिएको छ ।’ परियोजनाले स्वास्थ्यकर्मीलाई सुरक्षित प्रसुती सेवा र उपकरणहरुको प्रयोग गर्ने तरिकाबारे तालिमसमेत दिएको छ ।
तमानखोलामा कुनैपनि वडा र ठूलो बस्तीमा सहजै बर्थिङ सेन्टर पुग्न सकिने व्यवस्थापन मिलाईएपछि उपकरण र व्यवस्थापनमा परियोजनाको साथ भएको हो । यो परियोजनाले एउटै स्वास्थ्य संस्तथामा ६५ प्रकारका उपकरणहरु सहयोग गरेको छ । ‘सानो उपकरण अभावले पनि सुरक्षित सुत्केरी गराउने काममा असर पर्छ, त्यसैले हामीले ती उपकरण राख्न मिल्ने दराज पनि बनाएका छौं’ कार्यक्रम व्यवस्थापक गणेश बरुवालले भने, ‘क्रमशः जानकारी पाउने गरी राख्ने व्यवस्थापनले सुत्केरी सेवालाई प्रभावकारी बनाउने गर्छ ।’
खुंखानी स्वास्थ्य चौकीमा परियोजनाले जन्मेपछि शिशुलाई न्यानो बनाउने मेसिन पनि दिएको छ । स्वास्थ्य संस्थाभित्रै सुत्केरी भएपछि केही दिन राख्न सकिने गरी बेडको व्यवस्थापन पनि छ । ‘स्वास्थ्य संस्थामै रहन पाएपछि स्वास्थ्यकर्मीको नियमित निगरानीमा बस्न पाउँछन्, त्यसले उपचार पाउने र जोखिम भैहालेमा रिफर गर्न सकिन्छ’ तमानखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले भने, ‘स्वास्थ्य क्षेत्रको सुधारले गाउँपालिकाको सामाजिक सूचकमा पनि सुधार ल्याउन थालेको छ ।’
बोङगादोभानमा नमूना बर्थिङ सेन्टर
कुनैपनि संस्था नमूना बन्नकालागि न्युनतम आधारभूत आवस्यकता पुरा गरेर मात्र पुग्दैन । त्यसमा अन्यत्रभन्दा फरक व्यवस्थापन समेत चाहिन्छ । तमानखोला गाउँपालिकाको केन्द्र रहेको बोङगादोभानमा यो सेवा संचालनमा छ ।
जिल्लाकै स्वास्थ्य चौकीहरुमध्ये यो नमूना केन्द्र हो । ‘यहाँ अत्याधुनिक सुत्केरी बेड, सबै उपकरणहरुको व्यवस्थापन, आमा र शिशुलाई न्यानो पार्ने उपकरणहरु छन्’ स्वास्थ्य चौकीकी अनमी नमी घर्तीमगरले भनिन्, ‘यहाँ भएका उपकरण र व्यवस्थापनभन्दा बढी राजधानीका केन्द्रमा पनि पुग्दैन ।’ जटिल परिस्थिति भएमा वा अपरेशन गर्नुपरेमा मात्रै अन्यत्र पठाउनुपर्ने उनले बताइन् ।
यो बर्थिङ सेन्टरमा शिशु जन्मेको समय मापन गर्ने व्यवस्थादेखि पाठेघरमा कुनै घाउचोट लागेमा तत्काल उपचार गर्ने पद्दती छ । ‘ह्वालह्वाल रगत बगेको अवस्थामा पनि अन्यत्र नलगी यहीं उपचार गर्न सकिन्छ’ बरुवालले भने, ‘दुइजना दक्ष प्रसुतीकर्मी र आवस्यक पर्ने सबै उपकरण यहाँ व्यवस्थित रुपमा पुगेकोले समस्या पर्दैन ।’ गाउँपालिकाले स्वास्थ्य चौकीबाहेक थप ३ स्थानमा स्वास्थ्य इकाई बनाएर प्रसुती सेवा बिस्तार गराएको अध्यक्ष जोकलाल बुढाले बताए । सबै इकाईमा गरी २ करोड रुपैयाँ सुरु लगानी गरिसकेको बुढाको भनाई छ ।





