शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन

नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन

नेताको छातीमा किन टाँसियो ‘हामी यहाँ छौ’ ? यस्तो छ कारण


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७७, शुक्रबार

काठमाडौं, १० पुस – संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।
नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ । निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताए । आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए ।

आज दुनियाँलाई नेकपाको आधिकारिकता देखाउनका लागि सडकमा आएका हौं : भुसाल

निवर्तमान मन्त्री घनश्याम भुसालले संसद पुनस्र्थापना भएन भने संविधानले काम गर्न छाड्ने र मुलुक अस्थिरतातर्फ फस्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कृषि मन्त्रीबाट राजीनामा दिएका भुसाल शुक्रबार माइतीघर मण्डलामा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बने । भुसालसँगै अर्का निवर्तमान मन्त्री योगेश भट्टराई पनि माइतीघरमा उपस्थित भए ।माइतीघरमा भेलाएका बरिष्ठ नेता–कार्यकर्ताहरु अब निर्वाचन आयोगतर्फ जाने भुसालले बताए । नेकपामा आफूहरु ( प्रचण्ड–माधव समूह) नै आधिकारिक रहेको प्रमाणित गर्न र दुनियाँलाई सन्देश दिन निर्वाचन आयोगमा जान लागेको भुसालले बताए । साथै आजै सांसद अदालत जाने कार्यक्रम रहेको पनि भुसालले बताए ।
नेकपा (प्रचण्ड–माधव समूह) का नेता भुसालले भने, ‘अहिले हामी निर्वाचन आयोग जाँदैछौं र त्यहाँ एउटा निवेदन दिँदैछौं । खासगरी केन्द्रीय कमिटीको अत्यधिक बहुमत हामीसँग छ र हामी नै आधिकारिक हौं भन्ने प्रमाणित गर्नका लागि र यो दुनियाँलाई देखाउनका लागि, त्यसमाथि जालझेल नहोस् भन्नका लागि हामी निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्यहरु जाँदैछौं ।’
भुसालले भने, अदालतको सुनुवाई आज सुरु हुन्छ, त्यहाँ पनि हामी सांसदहरु पुग्छौं । र, यसरी बहुमत सांसदहरु, बहुमत केन्द्रीय कमिटीका सदस्यहरु, हामी संसदको पुनस्थापनाको पक्षमा छौं र हामी आधिकारिक नेकपा हौं भन्ने आज हामी स्पष्ट पार्न चाहन्छौं ।’ मन्त्रालय चलाइरहेका मन्त्री र सांसदहरु सडकमा हिँड्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नमा भुसालले भने, ‘आजको प्रश्न भनेको संसदको पुनस्र्थापनाको हाम्रो माग छ । यो माग संविधानको रक्षाको माग हो ।’
उनले अगाडि भने, ‘संसदको पुनस्र्थापना भएन भने हाम्रो संविधानले काम गर्न छोड्छ र फेरि मुलुक अर्को अस्थिरताको भुँवरीमा फस्छ । त्यसले गर्दाखेरि यो माग सांसदको मात्रै माग होइन । कम्युनिस्ट पार्टीका सदस्यको मात्रै माग होइन । यो समस्त लोकतन्त्रका लागि लडेका, लोकतन्त्रप्रेमी सबै नागरिकहरुको माग हो, मुद्दा हो । त्यसकारणले आज यो सबैको दायित्व हो ।’
नेताको छातीमा किन टाँसियो ‘हामी यहाँ छौ’ यस्तो छ कारण
केहीदिन अघि आफू पक्षीय संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले संसद जीवितै रहेको बताएका थिए । त्यसलाई पुष्टि गर्दै सांसद र केन्द्रीय सदस्यहरुले आफूहरु संसद, सडक सबैतिर बहुमतमा रहेको सन्देश दिन खोजेका हुन् । ‘बहुमत हामीसँग छ, संसदीय दलमा होस् वा केन्द्रीय कमिटीमा । त्यसैले संसद मरेको छैन, हामी मरेका छैनौं’, प्रचण्डले भनेका थिए । उनले हामी जीवितै छौं भनेर सर्वाेच्च अदालतमा पनि जाने बताएका थिए ।
प्रचण्डको त्यही अभिव्यक्तिको निरन्तरता नै माइतीघर प्रदर्शनको नारा बन्यो । प्रचण्ड नेतृत्वको नेकपाले सरकारलाई मात्रै नभएर अदालत र निर्वाचन आयोगलाई समेत आफूहरुसँँग रहेको बहुमत देखाउन यस्तो नारा तय गरेको हो । ‘बहुमत कता छ भन्ने सरकार, निर्वाचन आयोग र अदालतले समेत देखोस् भनेर हामी सडकमा उभिएका हौं । हामी यहाँ छौं भन्नुको अर्थ हाम्रो ‘हेड काउण्ट गर, बहुमत यता छ’ भनेर देखाउन खोजेका हौं’, नेकपा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने ।
उक्त प्रदर्शन माइतीघरमण्डलबाट निर्वाचन आयोगतिर गइरहेको छ । आयोगलाई सशरीर बहुमत देखाउन यस्तो प्लेकार्डसहित प्रदर्शन गरिएको विघटित प्रतिनिधिसभा सदस्य झपड रावलले बताए । नेकपाको बहुमत सडकमा भएकोले अल्पमतका कदम खारेज गर्न ‘हामी यहाँ छौं’ भनेर देखाउन खोजिएको उनले बताए । हस्ताक्षर मात्र होइन टाउको गनेर देखाउन यस्तो नारा लेखिएको उनको भनाइ छ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २,५०१ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->