
तनहुँ, १३ पुस– यतिबेला कुलो जत्रै देखिएको बडुवा खोला बर्खाको बेला निकै ठुलो बन्छ । खोला तर्न हालिएका फड्के बगाईदिन्छ । स्कुले केटाकेटी, घाँस दाउरा र मेलामात गर्ने स्थानियलाई खोला तर्न समस्या हुन्छ । यहाँको लोकतान्त्रिक मोटरमार्गमा गुड्ने सवारी साधनका चालकलाई पनि सास्ती छ ।
बर्षौदेखि मोटरेबल पुल बनाउन आवाज उठाउदै आएका यहाँ स्थानियको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ । भिमाद नगरपालिका–३ स्थित वुडुवाखोलामा पक्की मोटरेबल पुलको शिलन्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरे ।
मन्त्री गुरुङले पुल निर्माण गुणस्तरिय भए नभएको अनुगमनको जिम्मा स्थानियले लिनुपर्ने बताए । उनले प्रतिनिधिसभा विघटन भएर मध्यावधी निर्वाचनको घोषणा भएपनि बिकास निर्माणमा प्रभाव नपर्ने बताए ।
भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले बिकासको यात्रा निरन्तर जारी रहेको बताए । उनले जनताको अपेक्षा र स्थानिय सरकारको परिकल्पनालाई प्रदेश सरकारले पुरा गर्दै आएको बताए ।
उपमेयर शारदा खनालले यहाँ पुल नहुदाँ बालबालिकाले अकालमै ज्यान गुमाएको स्मरण गरिन् । ‘कति जना फड्के तर्दा खोलामा खसेर घाईते हुनुभयो । कतिका छोराछोरीको ज्यान गयो । अब त्यस्तो दिनको अन्त्य हुदैँछ’, उनले सुनाईन् ।
वडाध्यक्ष भुपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानियको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे । ‘बाटो बनेपनि पुल नहुदाँ सवारी आउजाउमा समस्या थियो । गाउँमा पक्की बाटो पुग्यो । बिचको खोलामा भने पुल नै थिएन् । बिकासको स्तर मिलेको थिएन् । अब पुल बनेपछि दिगो बिकास र स्थायित्वको आवश्यकता देखिन्छछ’, उनले भने ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेनले सपनामा सोचेको वुडुवा खोलामा पक्की पुल विपनामा पुरा भएको उल्लेख गरे । उनले पुल बनेपछि यहाँका आसपासका गाउँमा पुगेको मोटरबाटोले सार्थकता पाएको उल्लेख गरे ।
पुर्वाधार बिकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाका अनुसार यो पुल १९.८ मिटर लामो र ६ मिटर चौडाईको हुनेछ । आगामी असार २७ गते निर्माण सम्पन्न गर्नेगरी गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको हो । ओपन फाउण्डेसन डिजाइनको पुल निर्माण लागत दुई करोड पाँच लाख ५७ हजार १ सय ४४ रुपैयाँ (भ्याट सहित) रहेको उनले जानकारी दिए । यो बर्ष गण्डकी प्रदेश सरकारले पुल निर्माणका लागी ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।





