बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चिच्याएर बर माग्छन् सत्यावतीमा भक्तालु

चिच्याएर बर माग्छन् सत्यावतीमा भक्तालु


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

बागलुङ, १५ पुस– आज मार्ग शुक्ल पक्षको पूर्णिमा तिथी । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्परा अनुसार आजको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्दिरमा रातको समयमा चिच्याएर बर माग्दा मनोकांक्षा पुरा हुने मान्यता छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि आज साग्दी पुग्नका लागि गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजनहरु बागलुङको बरेङका लागि हिँडेका छन् ।
गत वर्ष पूर्णिमाको दिन मात्रै दश हजार बढी भक्तालुहरुले चिच्चाएर बर मागेका थिए । यो वर्ष भने सत्यावतीको मन्दिर साग्दीमा धेरै जना भीड लाग्न पाईने छैन । विशेषगरी पूर्णिमाको राती प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व बर माग्नुपर्ने मान्यता रहेको भएपनि मंसिर र पुस महिनाभरी बर माग्दा मनोकांक्षा पुरा हुने मान्यताले सत्यावतीमा भक्तजन पुग्ने गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन् ।
कोरोना महामारीका कारण यो वर्ष एकै पटक धेरैजना भेला नहुन गाउँपालिकाले आग्रह गरेको छ । ‘समय सहज छैन्, हजारौंको भीडले महामारी फैलिन सक्छ’ अध्यक्ष शर्माले भने ‘हामीले व्यवस्थापनका लागि स्वयसेवक खटाएका छौं, आवश्यक परे सुरक्षाकर्मी पनि परिचालन हुन्छन् ।’ उनले महामारीलाई ध्यानमा राखेर यो वर्ष एक साता पहिलादेखिनै भक्तजनहरु आउने र फर्किने गर्न थालेको बताए ।
‘तीथि मिति भन्ने छैन्, पुस महिना लागेपछि धेरै जिल्लाबाट आएर फर्किनेहरु हुनुहुन्छ’ शर्मा भन्छन् ‘हामी आग्रह गर्न चाहन्छौं, भीड हुने गरी नआउनुहोला, पुस महिनाभर आउँदा हुने मान्यता रहेछ ।’ बरेङको सत्यावतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायतका जिल्लाबाट भक्तालुहरु पुग्ने गरेका छन् ।
परापुर्वकालमा महाशक्ति सत्यावती बराजुले चिच्चाएर बर माग्दा दिनको उज्यालोमा मागेको बर अरु कसैले सुन्ने र बराजुले बर दिन नसक्ने मान्यता अनुसार हरेक वर्षको दिवाली पुर्णिमाको दिन भक्तालुहरु त्यहाँ पुगेर बर माग्ने गरेको बरेङका स्थानीय ओम प्रसाद पौडेलले बताए । सत्यावतीमा पुगेर रातीमा मागेको बर पुरा हुने विश्वासले भक्तालुहरु त्यहाँ पुग्ने गरेका छन् ।
सत्यावती बराजु बहिरा रहेकाले चिच्चाएर बर माग्नु पर्ने र बर मागेको अरु कसैले देख्न नहुने मान्यता छ । पहिले हप्तौं लामो बाटो हिँडर सत्यावती पुग्ने गरेका भक्तालुहरु यसवर्ष भने सवारी साधनको प्रयोग गरेर त्यहाँ पुग्ने क्रम जारी छ । रातीमा बर माग्नु पर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नु पर्ने र पुर्णिमाको राती बर माग्नको लागि रातमा लाईन बस्नु पर्ने भएकाले भक्तालुहरुलाई समस्या हुने गरेको भक्तालु बोकेर कयौं पटक सत्यावती पुगेका सवारी चालक हर्कबहादुर तामाङ बताउँछन् ।
पहिले जस्तो यातायातको समस्या नभएपनि खाना बस्नको लागि समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुहरुले बताउने गरेका छन् । हाल सत्यावती जानको लागि बागलुङ बजारहुँदै दुदिलाभाटीहुँदै बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङहुँदै बाटाकाचौरसम्मको कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको उनले बताए ।
यसवर्ष सत्यावती दर्शनका लागि पुग्नेहरुको कम हुने गाउँपालिकाको आँकलन छ । हाल मन्दिर आसपासमा निर्माण गरिएका दुई वटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पुर्वाधार नभएको स्थानीय बताउँछन् । गाउँपालिकाले रणनीतिक योजनानै बनाएर सडक सञ्जालसँग सत्यावतीलाई जोडेको छ ।
आदिकालमा सत्यावती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनहरुलाई बर दिने गरेको किंवदन्तीको आधारमा भक्तालुहरु त्यहाँ जाने गरेको बुढापाकाहरु बताउँछन् । पाल्पामा रहेको सत्यावती बराजु, गुल्मीमा रहेको मालिका माईको भने कार्तिक शुक्ल पुर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->