
पोखरा, १६ पुस– पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा २२ औं संस्करणको सडक महोत्सव सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले अंग्रेजी नयाँवर्षको अवसर पारेर महोत्सव आयोजना गरेको हो । कोरोना कहरकाबीचमा पनि पोखरा सुरक्षित छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । महोत्सव ३ दिन मात्रै आयोजना हुँदैछ । महोत्सवको बेला होटलहरुले विशेष छुट दिएका छन् । महोत्सवलाई लक्षित गर्दै रेष्टुरेण्टहरु सडक किनारासम्म झारिएको छ । महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उद्घाटनको क्रममा बोल्दै उनले गण्डकी सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोषबाट बिना ब्याज व्यवसायीहरुलाई ऋण दिने प्रक्रिया सुरु भएको बताए । उनले कार्यविधि बनिसकेकाले अब त्यसको लागि व्यवसायबाट दरखास्त मागिने पनि बताए ।
‘प्रभावित व्यक्तिहरुलाई पहिचान गरी एक लाख, दुई लाख दिन म चाहन्थँे, तर एउटा कार्यविधि बनाउन ६ महिना लाग्यो, जनतालाई दिने भने पछि टेबुलमा बस्नेहरुको चित्त बुझ्दैन’, उनले भने,‘ थोरैमा ५० हजार देखि बढीमा १५ लाखसम्म ब्याज मिनाहा गराउने गरी यो कोषको रकमलाई हामीले प्रयोग गर्न खोजेका छौं ।’ फेवातालको किनारामा बोल्दै उनले
फेवातालको नक्साङकन र सीमाङ्कन गरेपछि अतिक्रमणमा परेकाहरुलाई मुआब्जा दिने प्रक्रिया थालिने पनि बताए । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले अब पर्यटनका क्षेत्रलाई बन्द गरेर नहुने भन्दै स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्ला गर्नु पर्ने बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले आफूहरुले कोरोनासंग डराएर हुँदैन भनेर एक दुई महिनादेखि स्वास्थ्य मापदण्ड पालना गरेर सुरु गर्नु पर्छ भन्दै आएको बताए । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा महोत्सव संयोजक बसन्त गौतम, प्रचार संयोजक विकास भट्टराईलगायतले वोलेका थिए । महोत्सवको अवसरमा प्रभात फेरीको आयोजना पनि गरिएको थियो ।





