बेनी, १६ पुस– नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई जिताउ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन बिहिबारदेखि घरदैलो सहित अभियानको सुरुवात गरेको हो । रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउन सफल भएकी थिईन् ।
भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ,भलिबल खेलाडी एवम् प्रशिक्षक तेजेन्द्र बानियाँले अरुणाको भलिबलमा प्राप्त सफलताले म्याग्दीको गरिमा समेत उच्च भएको बताउँदै अवार्ड विजेता बनाउन अपिल गरे । मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ। भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन शुक्रबारबाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ । यसैबीच सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी शाहीले मनोनयनमा परेपछि स्वदेश तथा विदेशमा रहेका भलिबलका शुभचिन्तकलाई सहयोग गर्न अपिल गरेकी छन् ।





