
बागलुङ, १७ पुस– हात्तिपाईले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले गतवर्ष नवौ पटक बागलुङमा हात्तिपाईले रोगविरुद्धको औषधि खुवायो ।
बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तिपाईलेको संक्रमण देखिएपछि कार्यालयले जिल्लाका सबै नागरिकलाई औषधि खुवाएको थियो । पटक पटक औषधि सेवन अभियान सञ्चालन हुँदासमेत नारायणस्थानमा नै संक्रमितहरु देखिन नछोडेपछि गतवर्ष स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला घर घरमै पुगेर औषधी खुवाएका थिए । बृद्ध, बिरामी र कम उमेरका बालबालिकाबाहेक सबैले औषधि खाँदा नारायणस्थानमा ८० प्रतिशत जनसंख्याले औषधि खाएको तथ्यांक आयो तर संक्रमित देखिने क्रम भने रोकिएको छैन् ।
गतवर्ष औषधी सेवन कार्यक्रमअघि नारायणस्थानमा २७ जना हात्तिपाईले रोगका संक्रमित थिए । अभियानको केही समयपछि गरिएको परीक्षणमा ८ जनामा संक्रमण देखिएन तर अझै १९ जनामा संक्रमण रहेको पाईयो । नारायणस्थानमा संक्रमित देखिएपछि यो वर्ष पनि आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने भएको हो ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको निवारण हुन १ प्रतिशतमा आइपुग्नु पर्छ । तर नारायणस्थानमा केही वर्षअघि ३ प्रतिशत रहेकोमा घटेर २.३ प्रतिशत पुगेको थियो । सन् २०१८ मा फेरी बढेर झण्डै ५ प्रतिशतमा उक्लेपछि औषधी खुवाउने काम गर्नुपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
‘एक पटक देखिएपछि दुई वर्ष खुवाउनु पर्छ, पूर्वजाँच र औषधि सेवन पछिको जाँचमा एक प्रतिशतभन्दा कम भएमा मात्रै निवारण भएको मानिन्छ ।’ गुरौले भने ‘माघमा प्रि–जाँच गरेर फागुनमा औषधी खुवाउने कार्यक्रम सञ्चालन हुने छ ।’ औषधी खुवाउनु पूर्वको जाँच नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेरामा हुनेछ । दुवै वडामा तीन सय जनाका दरले ६ सय जनाको जाँच गरेर अहिलेको अवस्थाबारे जानकारी हुने उनले बताए ।
लामखुट्टेले संक्रमितलाई टोकेपछि अर्कोलाई टोक्दा सार्ने भएकोले जोसुकै मानिस संक्रमको जोखिममा रहन्छन् । तत्काल लक्षण नदेखिने भएकोले लामो समयपछि मात्र थाहा हुन्छ । हात, खुट्टा सुन्निने, शरीरका जुनसुकै स्थानमा संक्रमण देखिने, अण्डकोसहरु सुनिएर हाइड्रोसिल हुनेजस्ता समस्या यो रोगमा हुने गर्छ ।
औषधी सेवनपछि कम्तिमा एक वर्षका लागि सर्ने समस्या नहुने भएकोले निवरणको अवस्थामा लैजान पहल गरिएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक युवराज पोखरेलले बताए । ‘औषधी खुवाएपछि पनि प्रत्यक्ष निगरानीमा रहेका संक्रमितमा संक्रमण कायम रहनु अनौठो कुरा हो’ पोखरेल भन्छन् ‘यसको कारणबारे हामीले खोजी गरिरहेका छौं ।’
बागलुङको नारायणस्थान र पर्वतको पाङमा संक्रमित देखिएकाले दुवै जिल्लाका सबै स्थानीय तहमा दशौं पटक अभियान सञ्चालन हुनेछ । निरन्तर औषधि खुवाउँदा समेत संक्रमितको संख्या घट्ने वा अरुमा सर्ने क्रम नरोकिएमा विश्व स्वास्थ्य संगठनले बनाउने रणनीतिको आधारमा कार्यक्रम परिवर्तन हुने उनले बताए । बागलुङमा संक्रमण कायम रहेकाले यसबाट जोगिनका लागि सरोकारवालाले दशौं पटक आम औषधि सेवन कार्यक्रममा सहभागि हुन आव्हान गरेका छन् ।





