बागलुङ, १९ पुस– दैनिक सयौं बिरामी आउने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तसंचार अभाव भएको छ । रक्त संचार नहुँदा तत्काल रगत चाहिने बिरामीको उपचारमा समस्या पर्ने गरेको छ ।
सदरमुकामदेखि ९० किमी पश्चिममा भएकोले दैनिक बिरामीहरु धेरै आउँछन् । तत्काल सदरमुकाम पुग्न नसक्नेले यहाँकै भर पर्नुपर्छ । रगत अभावमा सुत्केरी सेवा लिनुपर्नेलाई बढी सास्ती हुने गरेको केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
आवस्यक दरबन्दीका स्वास्थ्यकर्मीसमेत छैनन् । तत्काल रिफर गर्न एम्बुलेन्स पनि छैन । हाल पश्चिम क्षेत्रमा आएका एम्बुलेन्स केन्द्रको मातहतमा चल्ने वा कता रहने भन्ने अझै अन्यौल छ । अपरेशन गर्ने डाक्टर छन्, तर रक्तसंचार केन्द्र छैन । त्यसैले काम हुन्छ, जटिल अवस्था आयो भने रिफर गर्नुपर्छ । त्यसरी रिफर गर्दा बिरामीले चर्को शुल्क तिरेर ट्याक्सीमा कुद्नुपर्ने बाध्यता छ ।
रक्तसंचार नभएकोले अपरेशन गर्ने बिरामीले रक्तसमूह मिल्ने व्यक्ति खोजेर राख्नुपर्ने बाध्यता छ । ‘उपचार मात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ’ मल्लले भने, ‘उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।’ बिभागीय रुपमा दरबन्दी पुरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उनले बताए ।





