पोखरा, २४ पुस– कास्की नेत्रहीन संघ कास्कीले दृष्टिविहीन मैत्री शैक्षिक योजनाको माग गरेको छ । अध्यक्ष श्रीकान्त सापकोटाको नेतृत्वमा बिहीबार पोखरा महानगरपालिका पुगेको प्रतिनिधि मण्डलले ९ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई बुझाइएको ज्ञापनपत्रमा दृष्टिविहीन विद्यार्थीकालागि ब्रेल पुस्तक उपलब्ध हुनुपर्ने, छात्राबासको भौतिक तथा शैक्षिक गुणस्तर अनुगमन गरि संस्थासँगको समन्वयमा प्रभावकारी सिकाई उपलब्धि तथा समावेशी शिक्षा सम्बन्धि स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन कानूनको कार्यान्वयन हुनुपर्ने, कक्षा ८ को पाठ्यक्रममा आधारित प्रश्न तयार पार्दा दृष्टिविहीन मात्रै हुनुपर्ने, दृष्टिविहीन शिक्षकहरुको कार्यसम्पादन प्रभावकारी बनाउन सहायक सामग्री दिनुपर्नेलगायतका माग राखेको छ । ध्यानाकर्षणपत्र बुझ्दै महानगरका शैक्षिक प्रशासन प्रमुख हेमप्रसाद आचार्यले संस्थाका मागहरु जायज भएकोले नगर शिक्षा योजनामा माग समेटिने तथा आधारभूत तह कक्षा ८ को परिक्षाका प्रश्नपत्र दृष्टिविहिन मैत्री बनाएर अघिबढ्ने प्रतिबदता व्यक्त गरे ।





