बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङमा अझै असुरक्षित गर्भपतन, अनाहकमा ज्यान गुमाउँछन् महिला

बागलुङमा अझै असुरक्षित गर्भपतन, अनाहकमा ज्यान गुमाउँछन् महिला

तमानखोला गाउँपालिका वडा नम्बर १ की २६ वर्षीया महिलाको रक्तश्रावले मृत्यु भएको थियो । रक्तश्रावको कारण असुरक्षित गर्भपतन नै थियो ।


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

बागलुङ, ५ माघ– महिलाको चाहना अनुसार गर्भ नरहेको अवस्थामा र असुरक्षित हुने अवस्थामा तोकिएको समयसम्म निःशुल्क गर्भपतनको सेवा कानूनी अधिकारको रुपमा स्थापित छ ।
नेपालका अधिकांश सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क छ ।
तर, बागलुङको ग्रामीण क्षेत्रमा अझैपनि असुरक्षित गर्भपतन गर्नेहरु छन् । निजी क्लिनिकमा र औषधि पसलमा पुगेर जथाभावी औषधि सेवन गर्ने क्रम घटेको छैन । यो क्रमले कतिपय महिलाको मृत्यु समेत भएको छ भने कतिपय गम्भीर बिरामी, दीर्घरोगी समेत भएको भेटिएको स्वास्थ्यकर्मीले बताए ।
यस्तै उदाहरण अघिल्लो महिना बागलुङकै तमानखोलामा पनि देखिएको छ । तमानखोला गाउँपालिका वडा नम्बर १ की २६ वर्षीया महिलाको रक्तश्रावले मृत्यु भएको थियो । रक्तश्रावको कारण असुरक्षित गर्भपतन नै थियो । काखको छोरा ६ महिना नपुग्दै औषधिपसलबाट असुरक्षित गर्भपतन गराउन खोजेकोले उक्त घटना भएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका स्वास्थ्यकर्मीले बताए । गर्भपतन गरेर घर फर्केपछि छोराको भात खुवाइकै दिन उनलाई अत्याधिक रक्तश्राव भएपछि पोखरा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

घटनाबारे स्थानीय सबै स्वास्थ्यकर्मीले ढीलागरी सूचना पाएको बताए । ‘यहाँ आउनु भएन, सोझै बुर्तिवाङ गएर मेडिकलको औषधि खानु भएछ’, बुंगादोभान स्वास्थ्य चौकीकी अनमी नमी घर्ती मगरले भनिन्, ‘समस्या परेको भए निःशुल्क र कानूनी स्वास्थ्य सेवा पाउनुहुन्थ्यो, ज्यान पनि बच्थ्यो ।’ स्वास्थ्य संस्था भन्दा निजी मेडिकलको विश्वास पर्दा धेरैले ज्यान फालेको उनले बताइन् । मृतक परिवारले अहिलेसम्म यो मुद्दा बाहिर ल्याउन सकेका छैनन् । ‘स्वास्थ्य चौकीमा जाँच गर्न नआउने, सोझै मेडिकलको औषधि खाएर गर्भपतन गर्न खोज्नेहरु अझै धेरै छन्’, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङकी स्टाफ नर्स पार्वती अर्यालले भनिन्, ‘निःशुल्क गर्भपतन सेवा भएको ठाउँमा नआउँदा घटना बढिरहेका छन् ।’
ढोरपाटन नगरपालिका वडा नं. ८ की २८ बर्षकी अर्की महिलालेपनि गत महिना मेडिकलमा पुगेर औषधि खाएर गर्भपतन गराउँदा ज्यानकै जोखिम भएको थियो । उनलाई तत्काल हेलिकोप्टरबाट पोखरा पु¥याएपछि बचाउन सकिएको अर्यालले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा निःशुल्क गर्भपतन सेवा उपलब्ध छ । तर, सानो उमेरमा विवाह, असुरक्षित गर्भपतन जस्ता घटना पटक–पटक दोहोरिने गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ‘तीन वर्षदेखि बाल विवाह बिरुद्ध अभियान चलाएका छौं, त्यसले केही कमी त भएको छ, तर पनि असुरक्षित गर्भपतन रोक्न नसक्दा ज्यान गुमाएका छन्’ बुढाले भने । केन्द्र प्रमुख डा. मिलन मल्लले वर्षेनी ५ देखि ७ जना सम्मले असुरक्षित गर्भपतनबाट ज्यान गुमाएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->