तनहुँ, ६ माघ– शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित भएको नगरप्रमुख किसान गुरुङले बताए ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणधीन कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि निर्देशिका बनाईएको उनले बताए । ‘साझा सहकारीको जग्गामा कृषि उपज संकलन केन्द्र निर्माण हुँदैछ । नगरपालिकाका सबै घरधुरीलाई शेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनेको छ’, नगरसभामा निर्देशिका प्रस्ताव पेश गर्दै मेयर गुरुङले भने । उनका अनुसार उक्त केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहनेगरी सञ्चालनमा ल्याईनेछ । यस्तै नगरको विकासमा सघाउनका लागि सार्वजनिक निजी साझेदारी ऐनको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
सातौँ नगरसभाबाट पारित भएको बजेटमा समावेश नीति तथा कार्यक्रमको श्रोत र रकमान्तरसँगै योजनको संशोधन गर्ने निर्णय नगरसभाले गरेको प्रवक्ता खिमबहादुर कुमालले बताए । नगरपालिका जटिल समस्याका रुपमा खडा भएको फोहोरमैला व्यवस्थापनका लागि पनि विभिन्न पालिकाले गरेको अभ्यास अनुसार अगाडी बढ्ने निर्णय भएको छ । फोहोरमैला व्यवस्थापनका लागि टेन्डर परेपनि अख्तियारमा उजुरी परेपछि कार्यन्वयन हुन सकेको छैन् । यस्तै करारमा रहेका कर्मचारीको सेवा नविकरण गर्ने निर्णय समेत गरिएको छ ।
सरकारले गठन गरेको भूमिसम्बन्धि समस्या समाधानका आयोगको लागि बजेट रकमान्तर गरिएको छ । लक्षित वर्गअन्तर्गत विनियोजित आदिवासी जनजाती, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागी छुट्याइएको रकमबाट २० लाख रुपैयाँ आयोगका लागि रकमान्तर गरिएको प्रवक्ता कुमालले जानकारी दिए । सभामा शुक्लागण्डकी–११ बिसौना राईपुरमा शिलन्यास गरिएको १५ शैय्याको अस्पतालको बिषयमा समेत छलफल भएको छ । यो अस्पताल नगरपालिकाको सहमतिबिना बिसौनामा शिलान्यास भएको हो । नगरबासीलाई पायक पर्ने स्थानमा अस्पताल बनाउनुपर्नेमा नगरसभा सदस्यहरुले जोड दिएका थिए ।





