बागलुङ, ७ माघ– नेकपा स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निरंकुसता लाद्न खोजेको बताएका छन् । जनताको अथक भावना समेटेर निर्माण गरेको संविधानमै व्यवस्था नभएको संसद बिघटन गरेर ओलीले देश र जनताका लागि धोका दिएको पौडेलको आरोप थियो ।
पौडेलले गैर संवैधानिक कदमका विरुद्ध पार्टि दुई भागमा विभाजन हुनुपर्ने बाध्यात्म परिस्थिति आएको बताए । ‘यो विभाजन होईन, केन्द्रिय समितिमा दुईतिहाई सदस्य सहित आधिकारिक नेकपाको नेतृत्व हामीले गरेको हौ’ पौडेलले भने । बागलुङको बुर्तिबाङमा आयोजित नेकपाको प्रचण्ड–माधव समुहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले सबैलाई पार्टिको पद्धति, सिस्टम अुसार काम गर्न र अझै क्रियाशिल हुन आग्रह गरे । कार्यक्रममा नेकपा बागलुङका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले केपी शर्मा ओली निरंकुशताको प्रतिक बनेर जनताबीच पतित भएको भन्दै पतित व्यक्तिको साथ छोडेको जिकिर गरे ।
यस्तै कार्यममा नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य हिराबहादुर केसीले संसद पुनस्र्थापना हुने जिकिर गर्दै संवैधानिक ‘कु’ गर्नेहरुका विरुद्ध सडकमा ओर्लर्नु पर्ने बाध्यता भएपनि नेपालको न्यायलयले सही र सत्यको पक्षमा निर्णय गर्नेमा आफूहरु विश्वस्त रहेको बताए । कार्यक्रममा प्रदेश कमिटि सदस्य प्रेम घर्ति, जिल्ला कमिटि सदस्य चन्द्रलाल अर्याल, राष्ट्रिय युवा संघका जिल्ला कमिटि सदस्य रेशम घर्तिले मन्तव्य राखे । ढोरपाटन नगर कमिटि सदस्य चुनाबहादुर घर्तिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य केशर छन्त्यालले गरेका थिए । नेपाल कम्युनिष्ट पार्टि ढोरपाटन नगर कमिटिले आयोजना गरेको भेलामा नगर सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ ।





