बागलुङ, ८ माघ– बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको उत्पादनसिल खेतबारीकोे माटोमा अम्लियपनको मात्र बढी पाईएको छ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङ विज्ञान संकाय स्नातक तह चौथो बर्षमा अध्ययनरत छात्र श्याम गैरेले गरेको माटोको नमुना परीक्षणमा अम्लियपन बढी भेटिएको हो ।
गैरेले गहुँ खेतीका माटोमा चाहिने खाद्यपदार्थ नाईट्र«ोजन, फसफोरस, पोटासियम, ब्रोन, जिन, विद्युतीयधारको नमुना परीक्षण गरेका थिए । पिएच स्केलमा माटोको अम्लिय र क्षारिय गुण परीक्षण गर्दा अम्लियपन ६.४ प्रमाणित भएको थियो । ‘प्रोजेक्ट वर्क’को रुपमा गैरेले ९ महिना लगाएर माझखर्क क्षेत्रको २० स्थानको माटो परीक्षण गरेका थिए ।
परीक्षण भएको माटोमा अर्गानिक म्याटर बढी पहिचान भएको छ । उक्त तत्वले विरुवालाई ठुलो बनाउन सहयोग गर्छ । गैरेका अनुसार उक्त माटोमा जिन र ब्रोन तत्वको मात्र कमी हुँदा बोट ठुलो भए पनि दाना सानो हुने, पहेलो रोग लाग्नुका साथै फल कुहिने वा झर्न समस्या हुने बताए ।
उक्त क्षेत्रको खेती योग्य जमिनमा कृषी चुन र जैविक मलका प्रयोगलाई बढाउनु पर्ने पृथ्वीनारायण क्याम्पस पोखरा रासायन शास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर एडि मिश्रको सुझाव छ । ‘माटोको नमुना परीक्षणले अम्लियपनको मात्र बढी देखिन्छ’ उनले भने–‘व्यवसायिक उत्पादनका लागि माटो सुधार गर्नुपर्ने सुझाव छ ।’
धौलागिरी बहुमुखी क्याम्पसमा भएको प्रोजेक्ट वर्क प्रिजेन्टेसनमा बोल्दै उहाँले अध्ययनलाई सैद्धान्तिक भन्दा पनि बढी व्यवहारिक र अनुसन्धान मुलक बनाउन उनले आग्रह गरे । स्थानीय तहको समन्वयमा मोटो, बोटविरुवा, खनिज, ढुङ्गा, पहाडी चट्टान, दुध, तेल, पानीको विषयमा पनि अनुसन्धान गर्न उनले आग्रह गरे । धौलागिरी बहुमुखी क्याम्पसले विज्ञान विषयमा स्नातक तह कक्ष संचालन गरे पछि पहिलो पटक ‘रिसर्च बेस’ अध्ययन भएको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्याले बताए ।
‘सिमित स्रोत साधनका बीच पहिलो पटक सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउने कोसिस भएको छ’ उनले भने–‘स्थानीय तहले सहयोग गरेको खण्डमा अन्य क्षेत्रमा पनि अनुसन्धान गर्न सकिन्छ ।’





