
बागलुङ, ९ माघ– २०१७ सालको संसद विघटन र प्रधानमन्त्रीलाई अपदस्त गरेको बिरोध गर्दा उनी पक्राउ परेका थिए । बागलुङको काठेखोला गाउँपालिका–५ बिहु“का गोबिन्द प्रसाद शर्मा कंडेल संसदको पक्षमा बोलेकै कारण ७ वर्ष जेल सजाय भोग्न बाध्य भए ।
जेल बसेर पनि उनले संसद र प्रजातन्त्रको वकालत गरिरहे । पटक पटक देशमा भएका संसद विघटनका घटनामा उनले बिरोध गर्न छाडेनन् । नेतृत्वलाई सोझै सल्लाह दिन पनि पछि हटेनन् । तर नेतृत्वले उनको कुरा भने कहिले पनि सुनेनन् ।
खुला राजनीतिमा आएपछि पनि कंडेलले पटक पटक नेतृत्वलाई संसद विघटनको निर्णयमा नपुग्न सल्लाह दिने गर्थे । ‘राजनीतिमा धेरै बिकल्प हुन्छन् भनेर सडकमा भाषण गरिन्छ, तर बिकल्पबारे प्रधानमन्त्रीले सोच्नु भएन’ ८२ बर्षिय कंडेलले राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।
कंडेल २०४८ सालमा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद थिए । उनले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेरै मध्यावधिमा नजान सुझाव दिएका थिए । उनको सुझाव कोइरालाले मानेनन् । ‘मध्यावधि देशको लागि कहिले पनि हितकारी भएको इतिहास छैन’ कंडेलले भने, ‘गिरिजाबाबुले गरेको मध्यावधिले कांग्रेस त हा¥यो, देश पनि २० बर्ष पछि धकेलियो’ कंडेलले भने, ‘अहिले केपी शर्मा ओली मध्यावधिमा जानुभयो भने हामी फेरी २० वर्षपछि धकेलिन्छौं ।’ राजनीतिमा जे पनि संभव छ भन्नेले देश जोगाउने धेरै बिकल्पबारे छलफल नगरेको उनले टिप्पणी गरे ।
८२ वर्षिय कंडेलले मध्यावधि निर्वाचन गर्नका लागि राष्ट्रमाथी महासंकट आउने बिकल्पमा मात्र संभव हुने बताए । मध्यावधि निर्वाचनले नेपालको अर्थतन्त्र टाट पल्टनेसमेत उनले चिन्ता व्यक्त गरेका छन् । ‘जनतालाई सास्ती दिने र देशलाई बर्बादीमा लैजाने अवस्थाबाट जोगाउन अब अदालत तयार हुनुपर्छ’ उनले भने, ‘नेताहरुको भावावेशमा देश बर्बाद भैरहेको छ ।’ पार्टीमा आपसी मेलमिलाप बनाउन नसकेको सिकार संसद बन्न नहुने उनले तर्क गरे ।
कंडेलले बीपी कोइरालाको पनि संगत गरेका थिए । २०१५ को निर्वाचनमा क्षेत्र नं. ८६ का भरतबम मल्ल र ८८ को मा गोबिन्दलाल श्रेष्ठलाई जिताउन उनले नेतृत्व गरेको कांग्रेस बागलुङका पूर्व सभापति हरिप्रसाद श्रेष्ठले बताए । २०१७ सालमा संसद बिघटनको बिरोध गर्दा कंडेलले ७ वर्ष जेल सजाय पाएको श्रेष्ठले बताए । उनी जीवनभर संसद बिघटनको बिरोधी हुन् ।
‘संसद भनेको जनताले चुनेका प्रतिनिधिले बहस, छलफल र निष्र्कष निकाल्ने थलो हो, त्यो बिघटन हँदा देशका निरंकुशता जन्मन्छ’ उनले भने, ‘२०१७ सालमा निरंकुश जन्म्यो, २०५१ को घटनाले जनयुद्द ल्यायो, २०५९ मा प्रतिगमन र निरंकुशता उठेको थियो ।’ फेरी अर्को दुर्घटनाले देश विकास ओझेल परेकोमा उनले चिन्ता व्यक्त गरे ।
बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँका जन्मेका कंडेलले २०१५ को निर्वाचनमा बीपी कोइरालालाई बागलुङ डाकेका थिए । ‘कांग्रेसले धर्म नष्ट गर्छ भन्ने आरोप थियो, मैले डाकेको कार्यक्रममा आएर बीपीले धोती फेरेर खाएको देखेपछि यहाँका जनतामा विश्वास पलायो’ उनले भने, ‘सामाजिक धर्म मात्र हैन, नेताले राजनीतिक धर्म पनि राख्नुपर्छ ।’ जनताको भरोसाको केन्द्र संसद जोगाउने धर्म नेताले पुरा गर्न नसकेको उनले टिप्पणी गरे ।
२०४८ को संसदमा पहिलोपटक विकास निर्माणमा बजेट बढाउन माग गर्ने व्यक्ती कंडेल हुन् । उनले पूर्वमा भन्दा पश्चिम क्षेत्रमा यातायात, शिक्षा र स्वास्थ्य कमेजोर भएकोले लगानी बढाउन माग गरेका थिए । नुन, तेल र चामल सस्तो मूल्यमा गाउँमा पु¥याउन माग गरेपछि तत्कालिन संयुक्त जनमोर्चाका नेता कृष्णबहादुर महराले आफ्नो माग सम्बोधन गरिदिएको कंडेलले स्मरण गरे ।
‘फेरी पुराना नेता अगाडि सर्ने हो भने मध्यावधिको तुक छैन’ कंडेलले भने, ‘कि त अब युवालाई अवसर दिनुपर्छ ।’ आ“फै प्रधानमन्त्री बन्नका लागि संसद बिघटन गरेर कोही पनि सफल नभएको उनले बताए । हुँदाखाँदाको अवस्था भत्काउ“दा नेकपा मात्र नभई देशको बर्बादी सुरु भएको उनले टिप्पणी गरे ।





