बेनी, ९ माघ– उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि यसबर्ष ३ करोड बिनियोजन भएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि ३ करोड विनियोजनसँगै संरक्षणको थप काम सुरु गर्ने तयारीमा रहेको पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनाका ईन्जिनियर कृष्ण विकले बताए । ‘बेनीबजार आसपासको क्षेत्रमै काम हुन्छ,‘बजार आसपासका क्षेत्रमा पनि कटान नियन्त्रणका लागि पहल भइरहेको छ’ इन्जिनियर विकले भने । कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीले ठेक्का पाएको छ ।
गतबर्ष सदरमुकाम बेनी आसपासका क्षेत्रमा करिब ४ करोडको खर्चमा बजार संरक्षणको काम भएको थियो । विगत एकदशक यता बेनीबजार संरक्षणमा कराडौं बजेट विनियोजन भएपनि आयोजना पक्षको गलत इष्टिमेटका कारण बर्षेनी कटानले क्षती गर्ने गरेको छ गतबर्ष बगरफाँट, भसभसे लगायतका क्षेत्रमा गरिएको संरक्षण नदी कटानले क्षती पुगेको छ भने बेनीबजार संरक्षणका लागि आर्थिक वर्ष २०७३÷७४ र ०७४÷७५ मा झण्डै ५ करोड खर्चिएर म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिबाट जेसिज सचिवालय भवनसम्मकोपक्की तटबन्ध भत्काएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी ररिटेनिङ (मेसिनरी) पर्खाल बनाइएको थियो ।
संरक्षणको नाममा बर्षेनी करोडौं खर्च गर्ने गरिएपनि मनसुन सकिने समयमा परेको भारी वर्षाले खोलामा एक्कासी पानीको सतह बढेपछि तटबन्ध बगाउने गरेको छ । बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी डेढदशक यता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबिनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो । ग्याबिनजाली, ढुंगाको प्रयोग गरी प्रयास गरिएको रोकथाम प्रभावकारी नभएपछि आर्थिक वर्ष ०७१÷७२ देखि ०७३÷७४ सम्म आरसिसी पर्खालको निर्माण सुरु गरिएको थियो । तटबन्धनलाई चक्रपथको रूपमा प्रयोग गर्ने गरिएको छ। बेनीबजारको पूर्ण संरक्षणका लागि पक्की पर्खाल सहितको संरचनामा झण्डै ५० करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
पर्वतमा धमाधम काम, म्याग्दीमा सुरसार पनि छैन् ।
बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्यमा ढिलाई भएको छ । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा बजार संरक्षणको काम धमाधम भइरहदाँ बेनी आसपासको क्षेत्रमा सुरसार पनि गरेको छैन् । पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत बेनीबजार संरक्षणको जिम्मा लिएको कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीले विभिन्न बाहना बनाएर काम रोकेको छ । कोरोना भाइरस, कामदारको अभाव लगायत विभिन्न बाहना बनाएर नदी संरक्षणको ठेक्का पाएको ठेकेदारले काम नगरेपछि पटकपटक ताकेता गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
‘परियोजना पक्षलाई पनि धेरैपटक भनिसकेका छौ,‘हरेक बर्ष हतारमा काम गरिदाँ दिगो हुन सकेको छैन’ अध्यक्ष कर्माचार्यले भने । उनले आयोजनाले हरेक बर्ष आफ्नो अनुकुलको इष्टिमेट बनाउने र नदी संरक्षणमा स्थानीय सरोकारवाला निकायसँग समेत स्थलगत रुपमा जोखिमको आधारमा संरचना बनाउने तर्फ चासो नदिने गरेको बताए । ‘अब पनि काम सुरु भएन भने हामी दवाव दिन पोखरा नै जाने तयारीमा छौ’ अध्यक्ष कर्माचार्यले भने । उनले आयोजनालाई तत्काल ठेकेदारलाई प्रभावित क्षेत्रमा खटाउन माग गरिएको बताए । नदीमा पानीको सतह बढेसँगै काम गर्न समस्या हुने र दिगो समय नहुने भन्दै समयमै काम सुरु गर्न गरिएको ताकेता सम्बन्धित निकायले बेवास्ता गरेको बेनीबजारबासीको गुनासो छ ।
कालिपुल बसपार्क क्षेत्रमा पानीको सतहमा कंक्रिट र माथिल्लो क्षेत्रमा तारजालीको प्रयोग गरिने छ भने मंगलाघाट र प्रहरी कार्यालय आसपासको क्षेत्रमा कंक्रिट पर्खाल लगाउने रुपाताल एकीकृत संरक्षण विकास परियोजनाले जनाएको छ । कालिपुल क्षेत्रमा ५० मिटर , मंगलाघाट ५० र प्रहरी कार्यालय आसपासमा आवश्यकता अनुसारको संरचना बनाउने गरी ठेकेदारलाई काम सुरु गर्न निर्देशन दिइसकिएको रुपाताल एकीकृत संरक्षण विकास परियोजनाका ईन्जिनियर कृष्ण विकले बताए । ‘हामीले दवाव दिइसकेका छौ,‘अब पनि ढिलाई गरे थप प्रक्रिया सुरु गछौं’ विकले भने । उनले यसबर्ष बेनीबजार बाहिर समेत थप बजेटको पहल भइरहेको बताए । पर्वत बेनीमा बुद्ध निर्माण सेवाले करिब २ करोडको काम करिब २५ प्रतिशत सम्पन्न गरिसकेको छ । प्ररियोजनाले रुग्न ठेक्काको कामलाई समेत निरन्तरता दिइरहेको जनाएको छ ।





