बागलुङ, १२ माघ– गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ पठाएको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले उपलव्ध गराएको ‘कोभिशिल्ड’ भ्याक्सिन जिल्लामा पुगेको हो ।
निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङ, कास्की स्याङ्जा, पर्वत, म्याग्दीलगायतका जिल्लामा सोमबारनै भ्याक्सिन पुगेको छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको भ्याक्सिन स्वास्थ्य कार्यालयहरुले सुरक्षीत गरेका छन् ।
प्रदेश सरकारले बागलुङ जिल्लाको लागि पठाएको १ हजार ९ सय ९६ डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन सोमबार सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले स्वास्थ्य कार्यालय बागलुङलाई हस्तान्तरण गरे । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन सुरक्षीत रुपमा बागलुङ ल्याएको थियो ।
गण्डकी सरकारले जिल्लाको लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवीकाहरुलाई लगाईने छ । ‘जिल्लाभर पहिलो चरणमा १ हजार ७ सय १४ जना स्वास्थ्यकर्मी तथा स्वयंसेवीकालाई लगाईने छ’ स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देव प्रकाश घिमिरेले भने ‘अहिले एउटा मात्रै खोप केन्द्र जिल्लामा सञ्चालन हुनेछ ।’ माघको १४ गतेदेखि खोप दिन सुरु गरिने छ । धौलागिरी अस्पताल खोप केन्द्रमा सबै स्वास्थ्यकर्मी र स्वयंसेवीकाले खोप लिने उनले बताए ।





