बागलुङ, १६ माघ– देशमा प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि बागलुङमा सहिद दिवस मनाईएको छ । सदरमुकाम बागलुङ बजार छेवैमा रहेको सहिद पार्कमा रहेका शालिकहरुमा माल्यापर्ण गरेर सहिद दिवस मनाईएको हो । कठोर र निरंकुुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको थियो । बागलुङमा पनि हरेक बर्ष माघ १६ का दिन मुल समारोह सहिद पार्कमा हुने गरेको छ ।
सहितहरुको तस्विर र शालिकमा माल्यापर्ण गर्दै जिल्ला समन्वय समितिका उप प्रमुख बिष्णु भुसालले सहिदको सम्मानका लागि उनीहरुले चाहेको व्यवस्थाको रक्षा हुनुपर्ने बताए । ‘अहिले राजनीतिक अवस्था खतरनाक बन्दै गएको छ, यहि अवस्थामा सहिदका सपना पुरा गर्न सकिँदैन्’ भुसालले भने ‘सहिदको सपना पुरा गर्न हामिले व्यवस्था जोगउनुपर्छ ।’
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहिदको सपना पुरागर्ने दायीत्वबाट भाग्न नमिल्ने बताए । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहिदको सम्झना मात्रै गरेर नहुने बताए । उद्यानमा रहेका सालिकमा माल्यापर्ण गरेर मात्रै उनीहरुको योगदानको कदर नहुने उनको तर्क थियो । हरेक बर्ष आयोजना हुने सहिद दिवस मुल समारोहको बागलुङ नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा मालेकी नेता मञ्जु क्षेत्रीले बोलेकि थिईन् । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका योजना अधिकृत युक्त प्रसाद सुवेदीले गरेका थिए । सहिद दिवस मनाउनका लागि नगरपालिकाले एक दिन पहिला सहिदपार्क सरसफाई गरेको थियो ।










