बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङ जिल्ला अस्पताल खै ?

बागलुङ जिल्ला अस्पताल खै ?


  • ढोरपाटन संबाददाता
  • माघ १८ २०७७, आइतबार

बागलुङ, १८ माघ– बागलुङमा अहिले जिल्ला अस्पताल छैन । दश बर्षदेखि धौलागिरी अञ्चल अस्पतालहुँदै प्रादेशिक अस्पतालको बाटोमा सेवा थपिएको छ । तर जिल्ला अस्पतालको संरचना भने कतैपनि बन्न सकेको छैन ।
बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नै जिल्ला अस्पताल बनाउने योजना पनि अहिलेसम्म अगाडि बढ्न सकेको छैन । सामान्य जिल्लामा भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएपनि बुर्तिवाङलाई पनि जिल्ला तहको मान्यता दिइएको छैन ।
स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लका अनुसार, बुर्तिवाङबाट मात्रै गत आर्थिक वर्ष ४ सय ४८ जना महिलाले सुत्केरी सेवा लिएका थिए । जुन तथ्यांक सामान्य जिल्ला अस्पतालभन्दा बढी हो । चालु वर्षको ५ महिनामा २ सयजना नाघेका छन् । तीमध्ये मासिक २० जनासम्म जटिल समस्या लिएर आएको उनको अनुभव छ ।
दैनिक १ सय ५० जना बिरामीको ओपीडिमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता छ । तीमध्ये ३० जनाको ल्याब र २० जनाको भिडियो एक्सरे गराउनु पर्ने अवस्थाका हुन्छन् । पाँच महिनामा यहाँ ५० जनाको अपरेशनपछि बच्चा निकालिएको डा. मल्लले बताए । यहाँ चालु बर्षको ५ महिनामा ६४ वटा पोष्टमार्टम भएका छन् ।
यहाँ दैनिक ओपीडि, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि भैरहेका छन् । तर ती सबै स्वास्थ्यकर्मीको आफ्नो चाहनाले मात्र भएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय समयबाहेक आकस्मिक सेवा दिने सरकारी प्रावधान छैन । तर डा. मल्लको नेतृत्व टिमले २४ घण्टे सेवा दिएको हो । यो सेवा नपाउँदा ढोरपाटन नगरपालिका र तीनवटा गाउँपालिकाबासीले सास्ती भोग्नुपर्छ । उनीहरु पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ ।
यो बाध्यता हटाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय बासिन्दाले अस्पतालको माग गरेका छन् । जिल्ला अस्पताल नबनेसम्म केन्द्रले पूर्ण काम गर्न नसक्ने, दरबन्दी अभाव, अस्पतालबाट पाउने अन्य औषधि लगायतको सेवा समेत बितरण गर्न नसक्ने बाध्यता छ । ‘अस्पतालको मान्यता पाएमा मात्रै ७२ प्रकारका निशुल्क औषधि दिन सकिन्छ, आवस्यक उपकरण खरिद गर्न पाइन्छ’ मल्लले भने, ‘अस्पतालको स्वरुप नभएकोले नगरपालिकाले दिएको केही स्वास्थ्य सामाग्रीको भरमा उपचार गराउन परेको छ ।’
यहाँ एक्सरे, भिडियो एक्सरे संचालन गर्न बिद्युत अभाव छ । जेनेरेटर नभएकोले स्थानीय बिद्युत अबरुद्व हुँदा कामै ठप्प हुन्छ । दैनिक दुईदेखि तीन जनासम्म दुर्घटनाका बिरामी आउने गरेका छन् । तर उपकरण, ट्रमा सम्बन्धी जनशक्ती र रगतको अभाव हुने गरेको हो ।
‘आएका बिरामीलाई हामीले सेवा दिन तयार भएर पनि अस्पतालको सेवा पुग्दैन’ मल्लले भने, ‘रिफर गरेर पठाउँदा धेरै समय लागेर कतिपयको बाटैमा मृत्युसमेत भएको छ ।’ जिल्ला अस्पताल भएमा मात्रै आबस्यक उपकरण माग गर्न पाउने, बजेट मगाएर खरिद गर्न पाउने प्रावधान हुने उनले बताए ।
सरकारी निर्णयले एघार वर्षअघि बागलुङ अस्पतालको बोर्ड फेरेर यहाँ धौलागिरी अञ्चल अस्पताल बनाएपछि अहिलेसम्म जिल्ला अस्पतालको टुंगो लागेको छैन । सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने योजना पनि अहिलेसम्म पुरा नभएको हो ।
तत्कालिन जिल्ला स्वास्थ्य र राजनीतिक दलका अगुवाले पनि जिल्ला अस्पताल बुर्तिवाङमा बनाउन पहल गर्ने बताएका थिए । पश्चिम बागलुङबासीले अझै आश्वासन पुरा नभएको बताए । ‘यहाँ अस्पताल बन्छ भनेर जिल्लादेखि मन्त्रालयसम्मले आश्वासन दिएका थिए, अहिलेसम्म वास्ता भएको छैन’ स्वास्थ्य केन्द्र निर्माण समितिका अध्यक्ष तुलसी अर्यालले भने, ‘समस्या आउँदा २ लाख तिरेर हेलिकोप्टर खोज्नुपर्ने बाध्यता छ ।’
‘धौलागिरी अञ्चल अस्पताल बिशेषज्ञ सेवाको भएकोले औषधि दिन मिल्दैन’ मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘ओपीडि र अन्य सेवामा पनि शुल्क लिनैपर्ने बाध्यता छ ।’ निशुल्क सेवाका लागि सरकारले जिल्ला अस्पताललाई स्पष्ट तोकेको उनले बताए ।
ढोरपाटन नगरपालिकाले यहाँ १५ शैयाको अस्पताल बनाउने निर्णय गरेपनि अहिलेसम्म काम थालेको छैन । सरकारी प्रावधान अनुसार जिल्ला अस्पताल बनाउने गरी भवन बनाएपनि जनशक्ती, उपकरण लगायतमा अहिलेसम्म निर्णय नगरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘संस्थागत सर्भे गरेर मन्त्रालयले दरबन्दी दिएपछि मात्रै जिल्ला अस्पताल बन्ने हो’ उनले भने, ‘हामीले त धेरै पहिलादेखि यो अनुरोध गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->