बागलुङ, १८ माघ- किशोरी तथा युवतीहरुलाई हुने रक्तअल्पताबाट जोगाउनकालागि विद्यालयमानै आईरन चक्की खुवाउने अभियान सुरु भएको छ ।
बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किसोरावस्थाका छात्राहरुलाई आईरन चक्की खुवाउने अभियान थालेको हो । आईतवार नगरका कक्षा ५ भन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्राहरुलाई आइरन चक्की खुवाइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । नेपाल सरकारको पोषण कार्यक्रम अन्तर्रगत विद्यालयकै सकृयतामा यो अभियान सञ्चालन हुने छ ।
नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य बिषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलव्ध गराउने छन् । शिक्षकहरुले आफ्नो विद्यालयका किसोरीहरुलाई हप्तामा एक पटकका दरले १३ हप्ता आईरन खुवाउने छन् । अभियानको अनुगमन र सुपरिवेक्षणको जिम्मेबारी विद्यालय नजिकै रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई दिईएको छ । ‘यो अभियान पोषणको अभियान हो, आज दिएको आईरन चक्कीले भोली यौवन अबस्थामा महिलामा देखिने रक्तअल्पता कम हुन्छ’ खनालले भने, ‘बागलुङमा पहिलो पटक सबै वडाका बिद्यालयमा पुग्नेगरी हामीले अभियान थालेका छौं ।’ विद्यालय नर्स कार्यक्रम सञ्चालनमा रहेका बिद्यालयमा भने नर्सहरुकै निगरानीमा किशोरीहरुले आईरन चक्की खाने व्यवस्था मिलाईएको छ । बागलुङ पाँच वटा विद्यालयमा मात्रै विद्यालय नर्स कार्यक्रम सञ्चालनमा छ ।
१३ हप्तासम्म निरन्तर खुवाईसकेपछि थप १३ हप्ता खाली रहने र त्यसपछिका १३ हप्ता पुन खुवाईने खनालले जानकारी दिए । नगरपालिकाले विद्यालयमा अवश्यक आईरन चक्कीको व्यवस्थापन गरेको छ । यो कार्यक्रममा १० बर्ष माथी १९ बर्षसम्म उमेर समुहका किशोरी सहभागी हुनेछन् । नियमित कार्यक्रम बनाएर अभियानमा कसैलाई नछुट्ने गरी व्यवस्थापन गरीएको खनालले बताए । बागलुङमा चार बर्ष पहिला सुरु गर्ने भनेर थालिएको अभियान बिभिन्न कारण देखाउँदै रोकीएको थियो । यस पटकको अभियान भने निरन्तर चल्ने खनालले जानकारी दिए । बागलुङ नगरपालिकामा ३४ वटा सामुदायिक र १७ वटा संस्थागत विद्यालयमा कक्षा ५ भन्दा माथी पठनपाठन हुने गरेको छ । सामुदायिक विद्यालयका झण्डै १ हजार जना र संस्थागत विद्यालयका १ हजार ५ सय किशोरीहरु यो अभियानमा सहभागी हुने शिक्षा शाखका अधिकृत गौरव रानाले बताए ।





