बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संकटमा खोजिहुने आयुर्वेद औषधिमा लगानी कम

संकटमा खोजिहुने आयुर्वेद औषधिमा लगानी कम

जैमिनी नगरपालिका–२ दमेकको औषधालयमा मात्रै ३ सय ११ केजी औषधि उत्पादन ।


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार

बागलुङ, १९ माघ– कोरोना संक्रमणका बेला गुर्जोलगायतका विभिन्न जडिबुटीजन्य बस्तुको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । उक्त समयमा जैमिनीस्थित दमेक आयुर्वेद स्वास्थ्य कार्यालयले मात्रै ३ सय ११ किलोग्राम आयुर्वेदीक औषधि बनाएको छ ।
जिल्लास्थित आयुर्वेद औषधालयहरुको गत बर्षको वार्षिक र चालु वर्षको अर्धवार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्यांक प्रस्तुत भएको हो । दमेक आयुर्वेद औषधालयका प्रमुख डा. लक्ष्मीप्रसाद शर्माले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
सो समयमा सबैभन्दा बढी आयुर्वेद औषधि उत्पादन गरेर उदाहरणीय काम गरेको अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. सरोजकुमार रायले बताए । उनले सीमित दरबन्दी र साधन श्रोतका बीच आर्युवेदीक औषधि उत्पादन र बितरणमा काम भैरहेको बताए । बरु अञ्चल औषधालयमा बर्षभरीलाई पुग्ने औषधि अभाव भएको पनि टिप्पणी गरेका थिए ।
समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखहरुले आफ्नो क्षेत्रमा भएका कामको प्रगती विवरण पेश गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाभित्रको बलेवा आयुर्वेद औषधालयतर्फको कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गरेका थिए । सबैभन्दा धेरै जनसंख्यामा यो औषधालयले सेवा दिएको थियो ।
५७ हजार ८ सय २३ जना जनसंख्या भएको बागलुङ नगरमा यो औषधालयबाट मात्रै बर्षेनी ३ हजार जनालाई सेवा दिने गरेको छ । गत बर्ष ३ हजार २ सय १८ जनालाई सेवा दिएको यो औषधालयले चालु वर्षको ६ महिनामा २ हजार ६ सय ३२ जनालाई सेवा दिइसकेको छ ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाको बुर्तिवाङ आयुर्वेद औषधालयको तर्फबाट आयुर्वेद निरीक्षक कृष्णदेव सिंह, बिहुँ औषधालयका कविराज गोपाल शर्मा, बेलबगर औषधालयका गोबिन्द चालिसेलगायतले प्रस्तुतिकरण गरेका थिए ।
उनीहरु सबैले सिमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताएका थिए । कतिपय अबस्थामा बजेट छ भनेपनि अन्यत्र रकमान्तरण भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको पनि बताए । बर्षको सुरुवातमा राम्रो सेवा भएपनि पछिल्लो समय औषधि अभाव हुने गरेको अधिकांशको टिप्पणी थियो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले समस्या समाधानमा नगरपालिकाबाट सहयोग गर्ने बताए । ‘दरबन्दी नै दिन नसकेपनि औषधि उत्पादन र केही अन्य व्यवस्थापनमा साथ दिन्छौ’, उनले भने, ‘जीर्ण भवन निर्माणका लागि भने थप योजना बनाउनु पर्नेछ ।’
अञ्चल आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिब घिमिरेको अध्यक्षता, कमलविक्रम पौडेलको संचालन र डा. सरोजकुमार रायको स्वागतमा सम्पन्न कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन र बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष जीवन आचार्य तथा जैमिनी नगरपालिका वडा नं. २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा लगायतले आयुर्वेदको विकास र उपचार पद्दतिलाई व्यवस्थित बनाउने काममा राज्यबाट लगानी हुनुपर्ने भन्दै स्थानीय तहबाट पनि सक्दो सहयोग गर्ने बताएका थिए । औषधालयले गत वर्ष कोरोना संक्रमणको कारण वार्षिक समीक्षा गर्न सकेको थिएन । चालु वर्षको भने अर्धवार्षिक समीक्षा पनि सँगै गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->