तनहुँ, २० माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ २ (क) मा विभिन्न योजनाको अनुगमन गरेका छन् । सोमबार उनले गृह नगर समेत रहेको भिमाद नगरपालिकाकामा सञ्चालन भईरहेका र अब सञ्चालन गर्ने योजनाको स्थलगत निरिक्षणसंगै स्थानिय जनसमुदायसंग छलफल गरे ।
भिमाद नगरपालिका–६ कुमारचोकमा सेती नदी कटानले प्रभावित क्षेत्रको निरिक्षणसंगै स्थानिय र जनप्रतिनिधीसंग अन्तरक्रिया गरे । उनले गण्डकी प्रदेश सरकारले तटबन्धनको काम गर्ने प्रतिबद्धता जनाए । त्यहाँ तटबन्धनका लागी डिभिजन सिंचाई कार्यालय तनहुँले भिमाद नगरपालिकासंगको सहकार्यमा डिपिआर तयार पारेको छ । करिब १५ करोड लागतको डिपिआर बनेको छ ।
मन्त्री गुरुङले ईको पार्क निर्माणका लागी भिमाद–९ मा रहेको चमेरो गुफाको निरिक्षण गरेका छन् । नेपालकै लामो दाबी गरिएको उक्त गुफामा हजारौँको संख्यामा चमेरो रहेका छन् । ती चमेरोको संरक्षण र अवलोकनका लागी पुग्ने पर्यटकको सहजताको लागी ईको पार्क बनाउन लागिएको हो । भिमाद–९ मोहोरियामा रहेको घ्याङचलुम ढुंगाको पनि अवलोकन गरिएको छ । त्यहाँ प्रदेश सरकारको लगानीमा वनस्पति तथा पंक्षी उद्यान बनाउने योजनो छ ।
भिमाद–८ राङरुङ पिपलडाँडामा निर्माणधिन रहेको पिपलडाँडा हरित पार्कको निरिक्षणसंगै वृक्षारोपण समेत गरे । भिमाद–९ सखेपमा निर्माणधिन बहुउदेश्यिय सामुदायिक भवन लगायतका योजनाको प्रगतीबारे जानकारी लिएका छन् । निरिक्षणमा मन्त्री गुरुङसंगै भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले लगायत सहभागी थिए ।





