बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुरमा साईकल लेन : पर्यटनमा नयाँ आयाम

बन्दीपुरमा साईकल लेन : पर्यटनमा नयाँ आयाम


  • बिनोद ढुंगाना
  • माघ २२ २०७७, बिहिबार

तनहुँ, २२ माघ– लस्करै एउटै शैली (भक्तपुरे शैलीका)का घर । झिँगटीको छानो । फुलबुट्टे झ्याल ढोका । ढुंगाको छपनी बिछ्याएर चिटिक्क पारिएको आँगन र गोरेटो बाटो । उत्तरतर्फ मुस्कुराईरहेका हिमश्रृखंलासंगै तरेली परेका पहाडका थुम्का । हिमालबाट सोझै वहरे आएको मुटु कँपाउने हावाको झोक्का बन्दीपुरको विशेषता हो । यिनै विशेषताले आन्तरिक र बाह्य पर्यटकको नजरमा कहलिएको गन्तव्य बनेको छ, बन्दीपुर बजार ।
यदि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले विश्वको पर्यटनलाई प्रभाव पार्थेन भने यतिबेला बन्दिपुरमा ठेलाठेल पर्यटक हुन्थ्यो । बर्षेनी लाखौँ पर्यटक बन्दीपुर घुम्न आउँछन् । तर, आसपासमा गन्तव्य नहुनु र भएका गन्तव्यको पहिना गर्न नसक्दा आएका पर्यटक बन्दीपुर बजार घुमेर फर्किहाल्छन् । पर्यटक अड्याउने गन्तव्यको अभाव देखिन्छ ।
पछिल्ला केही वर्षयता पर्यटकको बसाई लम्बाउनलाई बन्दीपुरे पर्यटन व्यवसायीसंगै बन्दीपुर गाउँपालिका पनि जुटेको छ । नयाँ गन्तव्यको पहिचान र पुर्वाधार निर्माणमा गाउँपालिका कस्सिएको छ । साहसिक पर्यटकका लागिसमेत बन्दीपुर चिनाउनलाई पुर्वाधार थप्ने योजना बुनेको गाउँपालिकाले साइकल लेन निर्माण गरी बन्दीपुरको पर्यटनमा नयाँ आयाम थपेको छ ।
बन्दीपुर–२ गुर्दुम भञ्जयाङदेखी वडा १ हुदै नम्बर ३ मा रहेको रामकोट होमस्टेसम्म ४.८ किलोमिटर र वडा नम्बर ४ गुम्बादेखि वडा नम्बर ५ बाहुनभञ्याङसम्म ४.२ किलोमिटर दूरीको साइकल लेन निर्माण गरिएको छ । गत आर्थिक वर्षको बजेटबाट साइकल लेनको काम भएको हो ।
श्रममा आधारित प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटलाई सदुपयोग गर्दै साइकल लेन बनाएको गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमको नौ लाख रुपैयाँ र लकडाउनको बेला विपन्न वर्गका लागी श्रममा आधारित राहत कार्यक्रमको तीन लाख रुपैयाँ खर्चिएर साइकल लेन बनाइएको हो । गत आर्थिक वर्षको बजेटबाट साइकल लेनको काम भएको उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्री भित्र्याएर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले साइकल लेन निर्माण गरेको उनले जनाए । ‘साइकल लेनले विभिन्न होमस्टे जोड्न खोजेका छौँ । यस्ले होमस्टेको प्रबद्र्धनमा सघाउँछ’, उनले भने । साइकल लेनले पर्यटनमात्रै नभएर गाउँले जनजिवन पजि सजिलो बनाएको उनको भनाई छ ।
साइकल लेनलाई व्यास नगरपालिकाको दमौली बजारबाट सुरु भएर आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडोसम्म पु¥याउने योजना बनाएको उनले सुनाए । यी दुई गन्तव्य जोडिँदा करिब ५० किलोमिटरको साइकल लेन बन्नेछ । त्यसका लागी व्यास र आबुखैरेनीसित सहकार्य गर्ने अध्यक्ष थापाले जनाए । महाभारत श्रृंखलामा बनेको लेनमा साईकल यात्रा गर्दा जोखिम कम हुने भएकाले पनि साइकलयात्रीको रोजाईमा पर्ने उनको दाबी छ ।
गुर्दुम भञ्जयाङदेखी रामकोट होमस्टेसम्मको साइकल लेनको हालै गाउँपालिकाले उद्घाटनसंगै परीक्षण गरेको छ । तीन जना साइकलयात्रीले यो लेनमा साइकल यात्रा गरे । साईकल लेनको सम्भावना निकै राम्रो पाएको साईकलयात्री चन्द्र आलेले बताए । उनले भने, ‘सम्भावना राम्रो छ । लेनलाई निर्माण गरेर मात्रै हुदैन् निरन्तरता दिन जरुरी छ ।’ साइकलयात्रीलाई चोटपटक लाग्दाको बखत प्राथमिक उपचारसमेत अभाव देखिएको बताए ।

तनहुँकै पहिलो गोरो छाला भएका पर्यटक भित्र्याउने गाउँको रुपमा परिचित रामकोटमा पर्यटनको साइकल लेन आशाको किरण बनेको छ । हिमालका दुश्य, तरेली परेका पहाडका थुम्का, हरियाली प्रकृती, भिरपहरा हेर्दै जंगल छिचोल्दै साईकल लेन हुदैँ होमस्टेमा बस्न आउने पर्यटकको संख्यामा बढ्नेमा विश्वस्त रहेको हामेस्टे व्यवस्थापन समितिकी अध्यक्ष विहीसरा आलेले बताइन् । ‘पर्यटक बढ्ने आशा गरेका छौँ’, उनले अगाडी थप्दै भनिन्, ‘साइकल लेनले त गाउँपालिका जान र जंगलबार घाँस दाउरा गर्न पनि सजिलो बनाएको छ । ’
हालै बनेको ९ किलोमिटर दुरीमा रहेको साइकल लेनले बन्दीपुर बजारसंगै यहाँका आधा दर्जन होमस्टेलाई जोडेको छ । बन्दीपुरका पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिकाको समेत लगानी रहेको बन्दीपुर केबलकार निर्माणधीन अवस्थामा छ । गाउँपालिकाले शिशाको पुल, बन्जीजम्प र जिपलाइनको योजना पनि अगाडी सारेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->