बागलुङ, २४ माघ – नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुले शनिबार बिरोध प्रर्दशन तथा कोणसभा आयोजना गरेका छन् । झरी परिरहेकै समयमा पनि बागलुुङमा भेला भएका शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरे । उनीहरुले नागरिक समाजसमेत सडकमा आइसकेको अबस्थामा असंवैधानिक कदम सच्चिने विश्वास पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा कांग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य किरणराज पौडेलले कांग्रेस चुनावबाट भाग्न नचाहेको भन्दै संसद भंग गर्नु असंवैधानिक कदम भएको बताए । उनले अदालतले संसद पुनस्थापना गरेपनि निर्वाचनमा जान बाटो खोलेपनि पार्टी तयार रहने बताए ।
प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष गोबिन्द शर्मा कंडेलको अध्यक्षता, नेपाल शिक्षक संघका सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्रको संचालनमा सम्पन्न बिरोध कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, लोकतान्त्रिक कानून व्यवसायी संघका अध्यक्ष भूमिश्वर गौतम, नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय महिला उपाध्यक्ष शकुन्तला शर्मा, त्रिवि कर्मचारी संघका अध्यक्ष सूर्य गौतम र नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त शर्मा लगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए ।
उनीहरुले संसद पुनस्थापनापछि संसदबाट हुने जुनसुकै क्रियाकलाप मार्फत देशलाई बिकासको गतिमा लैजान सकिने बताए । उनीहरुले निरंकुशता भने सहन नसक्ने धारणा राखेका थिए ।





