बागलुङ, २५ माघ– नेपाली वैज्ञानिकले गरेको अनुसन्धान र कोरोना खोपको सफलतापछि विश्वका जर्नलले उनीहरुको अनुसन्धान प्रकाशित गर्न थालेका छन् ।
अमेरिकाको सेन्ट जुड बाल अस्पतालमा डा. थिरुमलादेवी कान्नागन्तीको प्रयोगशालामा अनुसन्धानरत नेपाली वैज्ञानिक डा. राजेन्द्र कार्की र डा. भेषराज शर्माले कोरोना भाइरससम्बन्धी गरेको अनुसन्धान विश्वकै सर्वोकृष्ट मानिने जर्नल सेलमा पनि प्रकाशित भएको हो । यसअघि अस्पतालको वार्षिक जर्नलमा पनि प्रकाशित थियो ।
डा. कार्की पोखरा महानगरपालिका १३ बाँझापाटनका हुन् भने पौडेल बागलुङ नगरपालिका १३ पैयुपाटाका हुन् । दुबैजनाले दक्षिण कोरियाबाट विद्यावारिधी र अमेरिकामा थप अनुसन्धानको अध्ययन गरेका थिए । अहिले दुबैजना सेन्ट जुड बाल अस्पतालमा बरिष्ठ बैज्ञानिकको रुपमा कार्यरत छन् । यसअघि उनीहरुले कोभिड भएका बिरामीको शरीरमा कुन खालका प्रोटिनहरु बढेका छन् भनेर अध्ययन गरेका थिए ।
अध्ययनको क्रममा उनीहरुले ८ प्रकारका साइटोकाइनहरु भाइरसलाई मार्नका लागि इम्युन सेलबाट उत्पादन हुन्छन् । तिनीहरुमध्ये केही साइटोकाइनहरुले संवेदनशील अंगहरुको क्षति गराउन सक्छन् भन्ने पत्ता लगाएका थिए ।
कोभिड भएकाहरुको मृत्यु हुने मुख्य कारण फोक्सो र कलेजोजस्ता संवेदनशील अंगमा क्षति पुग्ने गरेकोले खोपमा ती अंग बचाउने व्यवस्था उनीहरुले गरेको पौडेलले बताए । उनीहरुले ८ प्रकारका साइटोकाइनहरुको संभावित मिश्रण बनाएर सेलको मृत्यु गराउँछन् की गराउँदैनन् भनेर अध्ययन गरेका थिए ।
२१ थरी मिश्रणको अध्ययनबाट उनीहरुले मानव सेलको मृत्युको कारण पत्ता लगाएका थिए । यसको प्रमाणका लागि मुसामा पनि अध्ययन गरेका थिए ।





