बागलुङ, २७ माघ – नेकपा नेतृ रामकुमारी झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने विरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनु परेको बताएकी छन् । नेकपाको प्रचण्ड नेपाल समूहको अगुवा कार्यकर्ता भेलामा बागलुङ आएकी झाँक्रीले मंगलबारको सभामा बोल्दै राष्ट्रपतिले केपी समूहको उपाध्यक्षकै भूमिकाको काम गरेपछि टीकाटिप्पणी हुनु नौलो नभएको बताइन् । पटक-पटक संविधान र कानुन च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर जनताको आवाजमात्रै बोलेको उनले बताइन् ।
उनले राजाको निरंकुशताविरुद्ध लडेको पुस्ताले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार जनतालाई सुरक्षित भएको पनि बताइन् । ‘दस वर्ष अघि राजाविरुद्ध लड्दा टाउको फोडेकोलाई निरंकुश प्रधानमन्त्री र उनकै गुटको राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध बोल्न फेरि रोक्ने ?’ गलत कामको टिप्पणी गरेर गणतन्त्र र राष्ट्रपति पदको अपमान नभएको उनले बताइन् । गणतन्त्रका लागि टाउको फोडेकालाई लाभको पद पाए भनेर हेपिएको समेत उनले बताइन् ।
झाँक्रीले आमनागरिकले गरेको प्रश्नमा मञ्चमा उभिएर प्रतिनिधिको रुपमा मात्रै आफूले टिप्पणी गरेको बताइन् । ‘केपी शर्मा ओली संसदीय दलको नेतासमेत नबन्दै प्रधानमन्त्रीको शपथ गराउनेदेखि अध्यादेशको रुपमा लगिएक सबै विषय आँखा चिम्लेर सदर गर्नेलाई कसको गुट भन्ने ?’ झाँक्रीले भनिन्, ‘सबैको राष्ट्रपति भएको भए हिउँदे अधिवेशन माग गरिएको निवेदन ६ घण्टासम्म बेवास्ता हुन्थ्यो ?’ उनले कार्यकर्ताले बाआमा भनेर उनीहरुको कदम दिनदिनै सहिदिनुपर्ने नियति नहटेसम्म देशले विकासको फड्को नमार्ने समेत दाबी गरिन् ।
संसद् पुन:स्थापना भएपछि महाअभियोग लाग्ने समेत उनले बताइन् । ‘दोस्रोपटक राष्ट्रपति दोहोरिने बेलामै हामीले भनेका थियौं, तर जबरजस्ती गरियो’ उनले भनिन् ‘नेतृत्व छान्नेबेला पनि कमजोरी भएछ, जनताले माफी दिनुहोला ।’ नेतृत्वले शाहवंशीय खलक बन्न खोजेपछि आन्दोलनको विकल्प नरहेको उनले बताइन् । भेलामा जिल्लाका १० पालिकाबाट कार्यकर्ता आएका थिए ।






