तनहुँ, २९ माघ– व्यास नगरपालिकामा अब एउटा वडा थपिने भएको छ । मंगलबार र बुधबार दुई दिनसम्म चलेको ३४ औँ नगरसभाले वडा नम्बर ६ लाई टुक्राएर दुई वटा बनाउने प्रस्ताव पारित गरेको हो । हाल व्यासमा १४ वडा छन् ।
वडा नम्बर ६ लाई विभाजन गर्ने र तीन वटा वडाको सिमांकन हेरफेर गर्ने प्रस्ताव नगरसभामा सर्वसम्मत पारित भएको मेयर बैकुण्ठ न्यौपानेले बताए । स्थानिय तहको पुर्नसंरचना हुदाँ साविकको स्याम्घा गाविसलाई वडा नम्बर ६ बनाईएको थियो । अब साविक स्याम्घाको वडा नम्बर १, २, ३ र ४ लाई एउटा वडा बनाउने र त्यसको केन्द्र शिशाघाटमा राखिने न्यौपानेले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाई केन्द्र श्याम्घा हटिया राख्नका लागी प्रदेश सरकार हुँदै संघिय सरकार समक्ष नगरसभाले पारित गरेको प्रस्ताव पठाईनेछ ।
यस्तै वडा नम्बर ८ को कोटथोक गाउँलाई ७ नम्बर वडामा, ९ को छाप गाउँलाई ११ मा र ११ को पातल गाउँलाई ९ मा गाभ्ने निर्णय भएको छ ।
यसअगाडी नै नगरपालिकाले उपप्रमुख मीरा जोशीको संयोजकत्वमा वडा सीमाना हेरफेरका गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदन र सर्वदलीय बैठकको निर्णय बमोजिम नगरपालिकाको आन्तरिक सीमाना हेरफेर तथा वडा विस्तारको निर्णय गरिएको न्यौपानेले बताए ।
‘जनताको माग बमोजिम वडा विभाजन र सिमाकंन हेरफेर गर्ने निर्णय भएको हो’, उनले अगाडी भने, ‘विभाजन गर्न लागेको वडा ठुलो थियो । वडाको केन्द्र असाध्यै टाढा परेका गाउँलाई नजिक केन्द्र भएको वडामा गाभिएको छ ।’
छिमेकी पालिकाका वडाका केही भागलाई व्यास नगरपालिकामा समावेश गर्न सम्बन्धित स्थानीय तहमा प्रस्ताव पठाउने निर्णय समेत गरेको छ । भानु नगरपालिका–१३ टुटेपानीलाई व्यास–८ मा, बन्दीपुर गाउँपालिका–३ को तानुङ यताका दुई गाउँलाई व्यास–१४ मा र भानु नगरपालिका–६ मूलपानीका दुई वटा टोललाई व्यास–१२ मा समावेश गर्ने प्रस्ताव गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ५ र ६ अनुसार गाउँपालिका वा नगरपालिकाको वडा संख्या वा सीमाना हेरफेर गर्नुपरेमा त्यस्तो हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकार हुदै केन्द्र सरकारमा पठाएपछि नेपाल सरकारले हेरफेर गर्न सक्ने प्रावधान छ । यो निर्वाचन हुने मितिभन्दा कम्तिमा एक वर्ष अगावै गरिसक्नुपर्ने उल्लेख छ ।
नगरसभाले चालु आर्थिक वर्ष ०७७÷७८ को संशोधित बजेट तथा कार्यक्रम एक अर्ब ५७ करोड २७ लाख १२ हजार रुपैयाँलाई यथावत राखी संशोधित आयमा संघिय सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने दुई करोड २८ लाख १९ हजार रुपैयाँ थप गरी आन्तरिक आयमा उक्त बराबर घटाउने निर्णय भएको नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनका अनुसार नगरसभाबाट चालु आर्थिक वर्षको संशोधित आर्थिक विधेयक २०७७ र संशोधित विनियोजन विधेयक २०७७ पारित भएको छ ।
लेखासमितिबाट पेश भएको आर्थिक वर्ष ०७५÷७६ सम्मको बेरुजु तथा पेश्की सम्बन्धी दश करोड ५० लाख ४७ हजार सात सय ६० रुपैयाँको संपरीक्षण गर्नुपर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अद्यावधिक गर्नलाई नगर कार्यपालिकाको अधिकार प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।





