बागलुङ, २ फागुन– बागलुङमा कोरोना भाईरसविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र बनाएर अभियान सञ्चालन भएको थियो ।
खोप अभियानको दोस्रो चरणमा भने जिल्लाका चार स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ । आईतबार बसेको कोभिड खोप समन्वय समितिको बैठकले गलकोट र कुश्मीशेरामा दुई ठाउँमा खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
गलकोटको हरिचौर र जैमिनीको कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्रको रुपमा तोकिएको छ । यसअघि सम्बन्धित नगरपालिकाले खोप केन्द्रका लागि जिल्ला खोप समन्वय समितिलाई पायक पर्ने स्थानमा केन्द्र सञ्चालनका लागि अनुरोध गर्दै पत्र लेखेका थिए ।
गलकोट खोप केन्द्रबाट ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका तोकिएको समुहले खोप लगाउन सहज हुनेछ । जैमिनीमा खोप केन्द्र रहँदा बरेङ गाउँपालिका र बुर्तिबाङमा खोप केन्द्र रहँदा पश्चिमका चार स्थानीय तहलाई पायक पर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
दोस्रो चरणको खोप अभियानमा पत्रकारहरु, बैंकका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई लक्षित गरेर लगाइँदैछ ।
फागुन २ र ३ गते धौलागिरी अस्पताल खोप केन्द्रमा तोकिएका निजामति कर्मचारी तथा फागुन ४ र ५ गते सुरक्षाकर्मी, पत्रकार, प्राधिकरण तथा संस्थानका कर्मचारीलाई खोप दिईने छ ।
यस्तै, फागुन ६ र ७ गते जनप्रतिनिधि तथा बैंक तथा वित्तिय संस्थाका कर्मचारीले खोप पाउने छन् । फागुनको ३, ४, ५ र ६ गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तोकिएको समुहलाई खोप दिने निर्णय जिल्ला खोप समन्वय समितिले गरेको छ । नयाँ तोकिएका गलकोट केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा फागुनको ५ र ६ गतेनै खोप अभियान सञ्चालन हुनेछ ।





