बागलुङ, ३ फागुन– गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले संचार माध्यमले समाज र राज्यको रचनात्मक आलोचना गर्न पाउनुपर्ने बताएका छन् ।
गलकोटपत्र साप्ताहिकको १० औं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा आइतवार बोल्दै शर्माले संचारको प्रभावकारी व्यवस्थापन र समय सापेक्ष प्रविधिको अबलम्बनबाट संचार क्षेत्रले फड्को मार्न सक्ने बताए ।
राज्यको चौथो अंगले आग्रह र पूर्वाग्रह भने राख्न नहुने गैरेको भनाइ थियो । ग्रामीण क्षेत्रमा रहेका संचार माध्यम बिकासको साझेदार समेत भएको भन्दै गैरेले आम नागरिकको सूचनाको रक्षा र खवरदारीमा निरन्तर सक्रिय रहनुपर्ने पनि बताए । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले सूचना पाउनु जनताको मौलिक हक भएको भन्दै सत्यतथ्य समाचारको खोजी गरेर पस्कनकालागि उनले संचारक्षेत्रलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा गलकोट नगरकमिटिकी सचिवालय सदस्य कौशिला घर्तीमगर, कांग्रेस गलकोट नगरका उपसभापति यज्ञप्रसाद सापकोटा, राजमोका सदस्य पदम श्रेष्ठ, गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारी लगायतले बोलेका थिए । गलकोट सूचना तथा संचार सहकारीका अध्यक्ष बीरेन्द्र श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष मञ्जु चालिसेको स्वागत र सचिव बीरबहादुर चोखालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





