बागलुङ, ८ फागुन– नेकपाको ओली समूहको महिला संघको जिल्ला भेला शुक्रबार बागलुङमा सम्पन्न भएको छ । ओली समूहले फागुनको १५ गते पोखरामा गर्न लागेको प्रर्दशनको तयारी स्वरुप भेला आयोजना गरिएको हो ।
कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य मनकुमारी केसीले महिलाको अधिकार स्थापित गर्नका लागि पनि ओली समूहमा लाग्नुको बिकल्प नभएको बताइन् । उनले समावेशीकरणकालागि वर्तमान सरकार र प्रधानमन्त्री ओली बढी गम्भिर भएको भन्दै अन्य समूहबाट नेपालको राजनीतिक निकास मसेत नहुने बताइन् ।
कार्यक्रममा नेकपाका नेता लिलबहादुर थापाले संविधान निर्माणपछि कार्यान्वयनको क्षेत्रमा वर्तमान सरकार सफल रहेको भन्दै सरकारको बिकल्प खोज्ने बेला नभएको बताए । उनले काम गर्न नदिएपछि निर्वाचनमा जान बाध्यता परेको भन्ने प्रधानमन्त्रीको भनाइको बचाउ गरे ।
निर्वतमान सांसद सूर्य पाठकले राजनीतिक स्थायित्वका लागि नेकपा अगाडि बढीरहेको बेला आन्तरिक किचलोले समस्या आएको भन्दै फेरी ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर सरकार बनाउने र देशमा स्थायीत्व दिने बताए ।
अर्का नेता कृष्ण पाठकले भूमिहिनलाई जग्गा दिने अभियान थालेको भन्दै यो सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई दिगो व्यवस्थापन गर्न लागेको बताए । धेरै सरकार आएपनि पीडितको समस्या समाधान गर्ने ओली नेतृत्वको नेकपा मात्रै भएको उनको दाबी थियो ।
अनेमसंघकी जिल्ला अध्यक्ष साबित्रा रानाको अध्यक्षता, लक्ष्मी बोहराको संचालन र यमुना काउचाको स्वागतमा सम्पन्न कार्यक्रममा हुमाकुमारी जिसी, भीमकुमारी आचार्य, भीमा अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा ओली गुटलाई बलियो बनाउन भूमिका खेल्न आग्रह गरिएको सहभागिले बताए । साथै आधिकारिक पार्टी पनि ओली समूह भएकोले अन्यत्र नजान भनिएको थियो ।





