मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रधानमन्त्री ओलीले संविधानमाथी आक्रमण गरे : महामन्त्री सिंह

प्रधानमन्त्री ओलीले संविधानमाथी आक्रमण गरे : महामन्त्री सिंह


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७७, सोमबार

बागलुङ, १० फागुन– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले संसद बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथी आक्रमण गरेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्रीले संविधानमाथी आक्रमण गर्दा ७० बर्षदेखि नेपालीले गरेको आन्दोलन र उपलब्धी समेत गुम्ने खतरामा पुगेको बताए । सिंहले ओलको कामले गणतन्त्र र धर्म निरपेक्षता जस्ता बिषय खतरामा परिसकेको टिप्पणी गरेका हुन् ।
प्रगतिशिल पत्रकार संघ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधान रक्षा गर्न नसके देशकै अस्तित्व रक्षा गर्न नसकिने चिन्ता व्यक्त गरे । ‘यो गलत कदमको मसालले सधैं बिरोध गर्छ’ उनले भने, ‘सबै पार्टी मिलेर बिरोध गर्ने र संयुक्त आन्दोलन समेत गर्नुपर्छ ।’ उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्याले नेकपालाई मात्रै असर नगरेको भन्दै यो देशकैलागि घातक भैसकेको पनि बताए ।

यो बिबाद र संकटले संविधानको रक्षामा समेत समस्या भैसकेको उनको भनाइ थियो । उनले गणतन्त्रलाई संस्थागत गर्ने र धर्मनिरपेक्षताको रक्षा गर्ने काम पुरा गर्नपनि संसद पुनस्थापना हुनुपर्ने बताए । ‘यस्तो बेलामा बिदेशी शक्ति र प्रतिक्रियाबादीले मुन्टो उठाउँछन्’ सिंहले भने, ‘नेकपाले आन्तरीक बिबाद समाधान गर्न नसक्दा देशनै संकटमा प¥यो ।’ संघीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने उनले संकेत गरे । ‘अविश्वासको प्रस्ताव ल्याएर कसैले सरकार ढाल्न खोज्छभने हामी ओली समुहको बिपक्षमा हुन्छौं’ सिंहले भने, ‘तर हामी आँफैले अविश्वासको प्रस्ताव ल्याउँदैनौं र त्यसकालागि सहयोग पनि गर्दैनौं ।’ भारतले धर्मनिरपेक्षता नचाहने र अमेरीकाले एमसिसि पारित गर्नकालागि अहिलेको परिस्थिती सिर्जना गरेको सिंहको टिप्पणी छ ।
सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई समेत आक्रमण गरेर ओलीले अधिनायकवाद देखाएको समेत उनले टिप्पणी गरे । सिंहले ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता रहेको समेत बताए । ‘विराटनगर पुगेर ओलीले अदालतलाई धम्क्याएका छन्,’ उनले भने, ‘आफै असंवैधानिक काम गर्ने, आफै अदालत धम्क्याउने खेलले निरंकुशता लाद्न खोजेको देखिन्छ ।’ उनले कांग्रेससहितका सबै दलको संयुक्त आन्दोलनको बलले संसद् पुनःस्थापना गर्नुपर्ने बताए । पार्टीको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आन्दोलनका क्रममा बागलुङ आएका सिंह अर्धभूमिगत रुपमा केही कार्यक्रममा सहभागी भएका थिए । पार्टी अध्यक्ष भएकाले ओलीले नै नेकपा फुट्नबाट बचाउनु पर्ने उनले बताए । ‘संवैधानिक संकट र पार्टी फुटको बेला छोपेर विदेशी शक्तिले देशको अस्मिता लुट्नेछन्,’ उनले भने, ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता सबै उपलब्धि पनि गुम्नेछन् ।’ संसद् पुनःस्थापनाबाटै समस्या समाधान र विकल्प खोज्न सकिने उनले बताए । कार्यक्रम संघका गण्डकी प्रदेश संयोजक ताराप्रसाद शर्माको अध्यक्षता र बागलुङ कमिटिका सचिव बिजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->