बागलुङ, १२ फागुन– संसद विघटन बदर भएको दोस्रो दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले चियापान गरेर खुशीयाली मनाएको छ । सदरमुकाम बागलुङ बजारमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले असंबैधानिक कदममा न्यायलयले सहि निर्णय दिएको बताईन् । उनले सर्बोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकबादी बाटो बन्द भएको टिप्पणी गरिन् ।
नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले अधिनायकवादी कदमको विपक्षमा उभिएको भन्दै नेता कार्यकर्ताहरुलाई धन्यवाद दिए । जनताको पक्षमा रहेको लडाईं नसकिएको भन्दै सापकोटाले आगामि दिनमा जनमतमा हुने प्रहारविरुद्ध उभिन सधैं तयार रहनुपर्ने बताए ।
कार्यक्रममा जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष चित्र सापकोटा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषध्यक्ष उमेश गौतम, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा कार्यालय सदस्य लाल थापाको स्वागत र जिल्ला सचिव ज्ञामनाथ गैरेको सञ्चालन रहेको थियो ।





