बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने


  • हरिकृष्ण गौतम
  • फाल्गुन १७ २०७७, सोमबार

बेनी, १७ फागुन– बेनी नगरपालिका–९ स्थित गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिकस्थलको रुपमा समेत चिनिने मन्दिरको छाना छाउन दाताबाट सहयोग जुटाउने र बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिन्छ’ कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए । ‘मन्दिरको छाना हाल सिमेन्टको छ,‘गलेश्वरको धार्मिक महत्व अनुसारका संरचनाहरु थपिन्छन्’ अध्यक्ष केसीले भने।
कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग समेत गरेका छन् । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । पित्तलको छाना राख्न २५ देखि ३० लाख लागत अनुमान गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । मन्दिरको निर्माण र ब्यवस्थापनका समाजसेवी शर्माबाट धेरै सहयोग भएकाले थप सहयोगका लागि समेत तयार रहेको प्रतिबद्धता जनाइएको थियो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा रहेको मन्दिरमा कोरोना भाइरसको संक्रमणका कारण भक्तजनको चाप घटेपनि विस्तारै बढ्न थालेका छन् ।
यसैबीच कोषको स्वामित्वभित्र सञ्चालन भैरहेका गलेश्वर पौलस्त्य पुलह अन्नदान क्षेत्र, गलेश्वरधाम ज्येष्ठनागरिक आश्रम, राधाकृष्ण मन्दिर आदी संस्थाहरुले छुट्टै संस्था दर्ता गर्न नपाउने हुँदा शिवालय क्षेत्र विकास कोषको शाखा संस्थाको रुपमा रहने नियमावली बनाई सञ्चालन गर्ने कार्यकारी सभाको बन्दसत्रले निर्णय गरेको छ । ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाको गुनासोलाई समेत ब्यवस्थापन गर्न तथा कोषले प्रभावकारी सञ्चालनका लागि थप योजना सहित अगाडी बढ्ने निर्णय गरिएको बताए । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।
कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको गलेश्वरमा ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानव निर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । कोषमा गत वर्षको समेत गरी दुई करोड ८६ लाख २० हजार ७२८ आम्दानी र १९ लाख ६७ हजार ८१४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषको कूल बचत दुई करोड ६६ लाख ५२ हजार ९१३ बचत रहेको कोषका कोषाध्यक्ष बमबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->