बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा स्थानीय तह र वडा थपको प्रस्ताव

म्याग्दीमा स्थानीय तह र वडा थपको प्रस्ताव


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १७ २०७७, सोमबार

बेनी, १७ फागुन– जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले हिमाली जिल्लाको मापदण्ड अनुसार सेवा सुविधा लाु गर्न संघीय सरकारलाई माग गरेको छ । गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएको म्याग्दीलाई आरक्षण कोटा, कर्मचारीको सेवा सुबिधा थप सहित विकास निर्माणका योजनाहरुमा समेत बजेटको आकार बढाउन समेत पहल गर्ने निर्णय गरिएको हो ।
सभामा सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका बिभाजनको निर्णय कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय समेत भएको छ । धवलागिरी गाउँपालिकाको सभामा वडा न.४ मुदी र ७ ताकमलाई २÷२ वटामा बिभाजन गर्ने निर्णय भएको थियो । रघुगंगा गाउँपालिकालाई दुईवटा पालिकामा बिभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्ला सभाले निर्णय गरेको छ । पुसको १५ गते भएको रघुगंगाको गाउँसभाले रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गरेको थियो ।
वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जिल्ला सभामा प्रस्ताव गरेका थिए । यसैगरी ठूलो भूगोलमा छरिएका अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ७ हिस्तानलाई बिभाजन गरेर दुई÷दुई वटा वडा बनाउन सिफारिस भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ।
सभामा सेवाप्रवाहमा नागरिकको सहज पहुँच र विकास निर्माणलाई ब्यवस्थित गर्न वडा बिभाजनको सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष डमबहादुर पुनले प्रस्ताव गरेका थिए भने धवलागिरी गापाकी अध्यक्ष थमसरा पुनले बिषयगत कार्यालयले समन्वय नगरेको, बिद्युत, पुर्बाधार बिकासका योजना अलपत्र परेको भन्दै ध्यानाकर्षण गराइन् । सभामा निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले गत आर्थिक वर्ष २०७६÷७७ मा गरेका मुख्य मुख्य क्रियाकलाप र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेश गरिन् । चालु आर्थिक वर्षमा जिससलाई विभिन्न शीर्षकमा एक करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी गराइएको थियो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मंगलाका अध्यक्ष सतप्रसाद रोकालगायत सभाका सदस्यहरुले बिकास निर्माण, सेवा प्रवाह र अन्य समस्याका बिषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->