
बेनी, १८ फागुन– जिल्लाको मालिका गाउँपालिका–३, डाँडागाउँका ६३ बर्षिय हर्कबहादुर रोकाको गोठमा प्रहरीले लागूपर्दाथ बनाउन प्रयोग हुने औजार सहित ठूलो परिमाणमा गाँजा बरामत भयो । गाँजाको बिक्री वितरण गर्ने र घरमै गाँजा प्रशोधन गर्ने स्थल बनाएको सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले बोरा भित्र साढे ७ केजी, बजारमा लैजान तयारी अवस्थामा राखिएको ३ वटा प्लाष्ट्रिकका पोकामा ११ केजी ६ सय ग्राम सहित करिब २१ केजी गाँजा भेटियो । सोमबार साँझ ६ बजे पक्राउ परेका रोकाले घरमै गाँजा तयार गरी प्रयोगकर्तालाई बिक्री गर्ने गरेको समेत पाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
घरखेत र आसपाका जंगलमा प्राकृतिक रुपमा उम्रिएको गाँजालाई प्रशोधन गरी गाउँबाट र नियमित प्रयोगकर्तालाई बिक्री गदैं आएका रोकाले गाउँबाटै ब्यवस्थित रुपमा गाँजाको बिक्री गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘गोठलाई गाँजाको उद्योग बनाएजस्तै देखिन्थ्यो,‘सहरबजारमा कुलतमा फसेका यूवाहरूलाई लक्षित गरी प्याकिङ समेत गरेको पाइयो,यूवापुस्ता लागुपदार्थको सेवनमा नराम्रोसँग फसेका छन्’प्रनाउ राईले भने । उनले घर आसपासका जंगल र प्रयोग नहुने स्थानमा लुकिछिपी गाँजा बनाउने गरेको बताए । ग्रामिण क्षेत्रमा उत्पादन र प्रसोधन गरिएको गाँजाको खपत सहरबजारका यूवाहरुलाई गरिने गरेको उनले बताए ।
गाँजा जोख्ने तराजु, र्यापिङपेपर, धुलो चाल्ने, विभिन्न तौलका ढक ५ थान, थुलो बनाउन प्रयोग हुने सेतो रङको पाइप र कपडा ३ थान समेत बरामत भएको छ। प्रहरीले रोकालाई नियन्त्रणमा लिएसँगै उनका नियमित ग्राहक र बिक्रीमा सहयोग गर्ने टोलीलाई समेत निगरानीमा राखेको छ।।त्यस्तै मालिका–२ रुम भिरखर्क बस्ने ३४ बर्षिय होमबहादुर पुनले समेत बाख्रा खोरमा लुकाई राखेको १२ केजी ८५० ग्रँम गाँजा बरामत गरेको छ । साविकको रूम गाविसमा गाँजाको कारोबार धेरै हुने भएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ । पछिल्लो समय म्याग्दीमा लागु औषध र पर्दाथको बिक्री वितरण र प्रयोगकर्तालाई निरुत्साहित गर्न समुदायलाई सहकार्यका लागि समेत प्रहरीले अपिल गरेको छ ।
विगतमा धेरै गाँजाको कारोबार गर्ने स्थानहरूमा कच्चा हरियो गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, रेञ्ची र फलामको मेसिनहरु प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत टोली परिचालन गरेको छ । विकट क्षेत्र भएकाले प्रहरीको उपस्थित निकै पातलो हुने भएकाले कारोवारीले ढुक्क भएर गाँजा प्रशोधन गरेर विक्री वितरण गर्ने गरेको पाइएको छ । पश्चिम म्याग्दीबाट गाँजाको प्रशोधन गरी छिमेकी बागलुङतर्फको रुटबाट समेत बिक्री वितरणका लागि लैजाने गरिएको छ । नियन्त्रणमा लिइएको दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही गरिने छ । ऐनको दफा १४ ९घ० ५ अनुसार १० किलोग्राम देखि माथि जतिसुकै भएपनि २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवानाको ब्यवस्था रहेको छ ।





