बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संरक्षणको नाममा बेनीबजार नै जोखिममा

संरक्षणको नाममा बेनीबजार नै जोखिममा

नदीमा जमेको ढुंगा निकालेर अस्थायी संरचना


  • हरिकृष्ण गौतम
  • फाल्गुन २८ २०७७, शुक्रबार
फाईल तस्विर

बेनी, २८ फागुन– बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डअन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि अस्थायी संरचना बनाउन नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको नदीको बीचबाटै भारी मेसिन (स्काभेटर) को प्रयोग गरी छियाछिया पारिएको छ । तटबन्ध नजिक कटान तीव्र रुपमा भइरहेको अवस्थामा नदी उत्खनन्मामा सहज हुने गरी एक्साभेटर र टिप्पर पुग्ने गरी सडक समेत बनाइएको छ । जलेश्वरको माथिल्लो क्षेत्रमा पर्ने बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहन भइरहेको छ ।
गतबर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको अवस्थामा तटबन्धनका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्ने अवस्थामा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम बेनीबजारको कालिपुल क्षेत्र थप जोखिममा परेको छ । तर, यसप्रति सरोकारवाला निकाय मौन बसेका छन् । उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीको शीरमा नदी नियन्त्रणको बाहनामा नदीको तीब्र बेगलाई रोक्न सक्ने ढुंगा निकाल्दा समेत जनप्रतिनिधि, सरोकारवाला निकायले मौन बसेपछि हरेक वर्ष नदी संरक्षणका बहनामा म्याग्दी र कालिगण्डकी नदीमा दोहन हुने गरेको छ । तटबन्धमा आवश्यक पर्ने ढुंगा अभाव भएको भन्दै नदीभित्र जमेर बसेको ढुंगालाई हेभी इक्युभमेन्टले छियाछिया पार्दा समेत अनुगमन पनि नगर्ने प्रवृत्तिले नदी दोहनमा ठेकेदारलाई बल पुगेको छ।
वातावरणीय परिक्षण प्रतिवेदन र सम्बन्धित कार्यालयसँग भएको सम्झौता बिपरित नदीको उत्खनन्मा हुने गरेको भन्दै रोक्न पटकपटक अनुरोध गर्दा समेत सुनुवाई नभएको स्थानीयको गुनासो छ। जलेश्वरदेखि कालिपुलसम्म साँघुरो भएकाले नदीबाट ढुंगा निकाल्दा बाहब बस्तीतर्फ ठोकिने जोखिम रहेको बेनपा–८ का वडा सदस्य हिमबहादुर भण्डारीले बताए । ‘ढुंगा निकाल्न नदिने प्रयास भएकै हो,‘कार्यान्वयन गर्ने निकायले नै वास्ता नगरेपछि सकिएन’ वडा सदस्य भण्डारीले भने । उनले स्काभेटरको प्रयोग गरी नदीको गर्भ खनिरहेको पाइएकाले स्थायी रुपमै रोक्न आवश्यक पहल गर्नुपर्ने बताए ।
कालिगण्डकीमा मानवसिर्जित कमजोरीले जोखिम बढेको भन्दै स्थानीयको दवावले समेत काम नगरेपछि सुरक्षा निकायको सहयोग समेत मागिएको थियो । उक्त स्थानमा बेनी नगरपालिका मार्फत शिव जिसी र पूर्वाधार कार्यालय म्याग्दीमार्फत ठेकेदार बिपिन खड्काले अस्थायी संरचना बनाउने कामको जिम्मा लिएका छन् । अस्थायी संरचनाको काम भएपनि हालसम्म बजेट स्वीकृत नभएकाले समस्या भइरहेको कार्यालय प्रमुख नवराज पौडेलले बताए । ‘नदीमा रहेका ढुंगालाई बेग रोक्न सघाउँछ,नदीको छेउछाउ र बीच भागमा रहेका ठूला–ठूला ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्छ’, पौडेलले भने ।
उनले नदीमा संरक्षणको कामका लागि अन्यत्रबाट ढुंगा लगायतका निर्माण साम्रागी ल्याउन समेत अनुरोध गरेको बताए । नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने बताए । बजेट अभावकै कारण जहाँ सम्भव छ त्यहीबाटै काम गर्नुपर्ने बाध्यता रहेको निर्माण व्यवसायीको भनाई छ । बस्ती आसपासका क्षेत्रमा नदीभित्रबाट ढुंगा निकाल्दा धार परिवर्तन गरी थप कटानको जोखिम हुने भएकाले सर्तक हुनुपर्ने प्राविधिक पक्षको भनाई छ । ‘उत्ताउलो विकासको मोडल प्रयोग भइरहेको छ,‘प्राविधिक पक्षले दिएको सुझाव नै कार्यान्वयन गदैनन्,‘अहिलेसम्म भएको नदीकटान प्राकृतिकसँगै मानवीय कमजोर पनि प्रमुख हो’ एक प्राविधिकले भने । यसअगाडी बेनीबजार संरक्षणको क्रममा समेत नदीभित्रबाट ढुंगा निकालिएको स्थान अहिलेसम्म जोखिममा परेको छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाममा जथाभावी नदी किनाराका ढुंगा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका थिए ।
विगतमा लापरवाही गर्दा…
कालिगण्डकी नदी संरक्षणका लागि बनाइएको स्थायी संरचनामा क्षती पुगेपछि रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले उपभोक्ता समिति मार्फत चारवटा प्याकेजमा काम गर्दा बेनपा–७ र ८ वडामा समेत नदीबाटै ढुंगा निकालेर काम गरिएको थियो । नदीलाई डाइभर्सनको बाहनामा दोहन गरिदाँ स्थायी संरचनामै क्षति पुगेपछि अहिले नदीबाटै ढुंगा निकालेर जोखिम भएको स्थानमा राख्ने गरी थुपारिएको छ । ग्याविनजाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमतिले नै नदी कटानलाई सघाइरहेको छ। नदीका ठूल्ठूला ढुङ्गा निकालेर टुक्राटुक्रा बनाई ग्याबियन लगाएर संरक्षण होइन झन् विनाश निम्तिएको छ । बजार संरक्षणभन्दा पनि काम देखाउने र टालटुल पारेर प्रगतिको चर्चा गर्ने गरिएको छ । बेनीबजारको पूर्ण संरक्षणका लागि पक्की पर्खाल सहितको संरचनामा झण्डै ५० करोडभन्दा बढी लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->