बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फिक्का लाग्ने मुस्कान !

फिक्का लाग्ने मुस्कान !


  • विनोद ढुंगाना
  • फाल्गुन २८ २०७७, शुक्रबार

तनहुँ, २८ फागुन– जस्ताले छाएको तर ठाउँठाउँमा चर्किएको पुरानोे तीन कोठे घर । पिँढीको एउटा छेउमा मैला कपडाको चाङ । घरमुली बसाई सरेजस्तै देखिने आँगन । आँगनको छेवैमा पानीको धारो । धनमाया गुरुङ (५३) र खमबहादुर गुरुङ (३८) वर्षौदेखि यही परिवेशमा बाँचिरहेका छन् । पूर्ण रुपमा मानसिक अपांग रहेका यी दुई सहोदर दिदीभाई हुन् ।
बाबुआमा गुमाइसके । आफन्त बसाई झरे । आफन्त र गाउँलेको संरक्षण धेरैथोरै पाएका छन् । तैपनि गाउँको बीचको घरमा उनीहरु एक्ला छन् । आफ्नो छुट्टै संसार होला ,उनीहरुको । गुरुङ भाषा मात्र बुझ्छन् रे । कसैले केही सोधेमा जवाफमा मुस्कान दिन्छन् । तर, त्यो मुस्कान फिक्का लाग्छ,जब उनीहरुको दर्दनाक अवस्था बुझिन्छ ।
‘भोक लाग्योसमेत भन्न जान्दैनन् । कहिलेकाँही त जुठेल्नामा फ्याँकेको खाना टिपेर पनि खान्छन्’, घर नजिकका एक छिमेकीले बताए । उनीहरुका दाजु खेमराजले बजारबाट चामल पठाइदिन्छन् । छिमेकीले पु¥याएर दिन्छन् । ती छिमेकीका अनुसार घरमा भएका सरसामान एकैपटक आवश्यकताभन्दा बढी पकाइ दिन्छन् । न खाने समय हुन्छ, न सुत्ने । सायद,जति बेला मनल जे भन्छ त्यही गर्छन् ।
यी दुई दिदीभाईलाई शुक्लागण्डकी नगरपालिकाले घरमै पुगेर अपांगता परिचयपत्र दिएको छ । नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेल, शुक्लागण्डकी–२ का वडाध्यक्ष जगतबहादुर गुरुङ, ढोर फुलबारी शहीद अस्पतालकी डा. प्रतीक्षा आलेलगायतको टोलीले शुक्लागण्डकी–२ राङ्दीस्थित उनीहरु बस्ने घरमा पुगेर ‘क’ वर्गको रातो अपांगता परिचयपत्र दिए ।
‘नगरपालिकाको कार्यालयसम्म ल्याउन नसक्ने अवस्था छ भनेपछि घरमै पुगेर परिचयपत्र दियौँ’, सामाजिक विकास शाखा प्रमुख पोखरेल भन्छिन्, ‘त्यहाँ पुग्दा अवस्था एकदमै दर्दनाक स्थिति देख्यौँ ।’
रातो कार्ड पाएपछि सरकारले उनीहरुलाई मासिक ३ हजार रुपैयाँका दर सामाजिक सुरक्षा भत्ता दिनेछ । भत्तामा पाउने रकमले उनीहरुको दैनिकी नफेरिने छिमेकीको बुझाई छ । छिमेकी भन्छिन्, ‘परिचयपत्र दिँदैमा जिवनस्तर सुधार हुने देखिँदैन् । उनीहरुलाई त संरक्षणको खाँचो छ ।’ संरक्षक र सरकारले उनीहरुको लालनपालन, सरसफाई, स्वास्थोपचारमाध्यान दिनुपर्ने आवश्यकता उनले आंैल्याइन् ।
जन्मजात पूर्णरुपमा मानसिक अपांगता भएका यी दुईले पहिलोपटक परिचयपत्र पाएका हुन् । नगरपालिकाले कार्यालयमा पटक–पटक परिचयपत्र वितरणका लागी शिविर गरिरहन्छ । त्यहाँसम्म लैजान नसक्दा अहिलेसम्म परिचयपत्र नबनेको दाजु खेमराजले सुनाए । ‘गाडीमा चढाएपछि रोइदिने । त्यहाँबाट भागेर बेपत्ता भइदिने गरेपछि परिचयपत्र बनाउन सकेका थिएनौँ’, उनले भने ।
हालसम्म शुक्लागण्डकीले ६ सय ५६ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सामाजिक विकास शाखाको तथ्याङ्क अनुसार१ सय ६५ जनालाई ‘क’ (रातो), २ सय ६५ जनालाई ‘ख’ (निलो), १ सय ४४ जनलाई ‘ग’ (पहेलो) र ८२ जनालाई ‘घ’ (सेतो) वर्गको परिचयपत्र वितरण गरिएको छ । रातो परिचयपत्र पाउने मासिक ३ हजार र रातो पाउनेले २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् । पहेँलो र सेतो परिचयपत्र भएकालाई शिक्षा, स्वास्थ्य उपचार, यातायात लगायतमा छुटको व्यवस्था हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->