बेनी, ६ चैत–कोभिड १९ विरुद्धको खोप अभियानमा म्याग्दी जिल्लाभित्र ६५ वर्षमाथिका ७ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा रहेका चौकीबाट ज्येष्ठ ७ हजार ४० जनालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
पहिलो चरणको खोप अभियानको तुलनामा दोस्रो चरणमा उत्साहजनक सहभागिता देखिएको थियो । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको खोपलाई जिल्लाका सबै स्थानीय तहका वडास्तरमै स्वास्थ्यकर्मीको उपस्थितीमा लगाइएको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
‘अपुग भएका ठाउँमा पठाइएको छ । ज्येष्ठ नागरिकको उपस्थिथिले निकै उत्साहित छौ,’ प्रमुख लम्सालले भने, ‘खोप प्राप्त गरेको केही व्यक्तिहरुमासामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या देखिएन ।’
अन्नपूर्ण गाउँपालिका–८, राम्चे र मालिका–६ दरबाङमा थप खोप पठाइएको छ भने खोप नपुगेर छुटेकालाई खवर गर्न समेत अनुरोध गरिएको छ । दोस्रो चरणमा मालिका गाउँपालिका–६, दिच्यामका १०७ वर्षीया ओमलाल निउरे, मंगला गाउँपालिका–३, सातबिसेकी १०५ वर्षीया आसीमा रोका लगायत सतक नाघेका ३ जना र लक्षित उमेर समुहकाले खोप लगाएका छन् ।
खोप लगाउन आउनेलाई स्थानीय तहले निशुल्क सुविधा उपलब्ध गराएको थियो । यसअगाडी पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी, दोस्रो चरणमा कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई खोप लगाइएको हो ।





