बागलुङ, १२ चैत– क्षयरोगबाट बच्नका लागि चासो र सुरक्षा बढाउनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्यकर्मी तथा पत्रकारबीच आयोजित अन्तरक्रियामा सहभागिले क्षयरोगले बिपन्न बस्तीमा, जोखिममा काम गरेका मानिसमा बढी संक्रमण हुने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले क्षयरोगीको सम्पर्कमा आएकाहरुको खकार परीक्षण गर्ने र हरेक वडामा हरेक साता स्वास्थ्यकर्मीले बिद्यालयमा कक्षा लिने व्यवस्थापन गराउन लागेको बताए । कोरोना संक्रमणले रोकिएको काम फेरी थाल्ने उनले बताए ।
स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले छिटो परीक्षणबाट छिटो संक्रमण रोक्न सकिने बताए । उनले क्षयरोग लाग्दा एकजनालाई मात्र नभई समुदायमा संक्रमण फैलिने खतरा हुने भन्दै तत्काल नियन्त्रण आवस्यक रहेको बताए । उनका अनुसार बागलुङमा अहिले पनि ७७ जना क्षयरोगी पत्ता लागेर औषधि सेवन गरिरहेका छन् ।
खोजी अभियान तीब्र नभएसम्म अझै यकिन तथ्यांक दिन नसकिने उनले बताए । क्षयरोग दिवशकै अवसरमा कार्यालयले बडिगाड गाउँपालिकामा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम थालेको छ । बागलुङ नगरपालिकामा १७ र बडिगाडको वडा नं। १ र २ मा १५जना भन्दाधेरै संक्रमित देखिएको बताइएको छ ।
अन्तरक्रियामा नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले क्षयरोग दिवश, बागलुङको अवस्था र उपचार पद्दती बारे प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार नेपालमा बिसं १९९६ देखि प्रत्यक्ष निगरानीमा आधारित उपचार पद्दती सुरु भएको छ । यो उपचारबाट क्षयरोग निको हुने दर बढेको छ ।
अहिले नेपालमा ४० हजार संक्रमित भएको अनुमान छ । तर निको हुने दर पनि ९० प्रतिशत पुगेको हो । यो विधिलाई प्रभावकारी बनाएर संक्रमण दरलाई शुन्य नजिक लैजाने योजना उनले सुनाए । कार्यक्रम जनस्वास्थ्य निरिक्षक लक्ष्मण ढकालले संचालन गरेका थिए ।





