बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२१ हिमताल फुट्ने खतरा

२१ हिमताल फुट्ने खतरा

जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल


  • ध्रुवसागर शर्मा
  • चैत्र १३ २०७७, शुक्रबार

म्याग्दी १३ चैत– नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले हालै गरेको अध्ययन प्रतिवेदनमा हिन्दकुश क्षेत्रको हिमालय रेन्जमा रहेका ४७ वटा हिमताल उच्च जोखिममा रहेका देखाइएको छ ।
हिन्दकुश क्षेत्रको हिमालय रेन्जमा भारत,चीन र नेपालका गरी ३ हजार ६ सय २४ हिमताल रहेका छन् । ती मध्ये नेपालमा पर्ने २१ वटा हिमताल उच्च जोखिममा रहेका र ती हिमतालहरु जतिबेला पनि फुट्न सक्ने देखाइएको छ ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा रहेका गण्डकी, कोशी र कर्णाली जलाधार क्षेत्रका हिमनदी घट्ने र हिमताल बढ्ने क्रममा रहेका वातावरणको क्षेत्रमा कामगर्दै आएका वातावरणविद्हरुले बताएका छन् ।
वातावरण क्षेत्रका अनुसन्धाता सुदन विकास महर्जनका अनुसार हिमताल फुटेमा नेपालको १ सय किलोमिटर क्षेत्रमा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ ।अहिले उच्च जोखिममा देखिएका हिमतालमध्ये चीनका २५ वटा,नेपालमा २१ वटा र भारतको एउटा रहेका छन् ।
जलवायु परिवर्तनका कारण वातावरणमा गम्भीर असर गर्दा हिमतालहरू फुट्ने जोखिम बढे पनि सरकारले उचित ध्यान दिन सकेको छैन । चीनमा रहेका हिमताल विष्फोट भएको अवस्थामा पनि क्षति नेपालतर्फ नै बढी हुने देखिएको उनले बताए । २ हजार ७० वटा हिमताल नेपालको राजनीतिक नक्शाभित्र पर्छन् ।
विगत ४४ वर्षको अवधिमा नेपालमा २६ वटा हिमताल फुटिसकेका छन् । सन् १९७७ देखि अहिलेसम्म नेपालका तीन नदीका जलाधार क्षेत्रमा २६ वटा हिमताल विस्फोटका घटना भएका इसिमोडको तथ्याङ्कमा देखाइएको छ ।
गत भदौमा भू–उपग्रहको तस्वीर मार्फत गरिएको अध्ययनमा कोसी जलाधार अन्तर्गत ४२ वटा,गण्डकी जलाधार अन्र्तगत ३ वटा र कर्णाली जलाधार अन्तर्गत २ वटा हिमताल कुनै पनि समय फुट्ने उच्च जोखिममा रहेको इसिमोडको रिपोर्टमा उल्लेख छ ।
सन् १९७७ मा १ हजार १ सय ६० वटा हिमताल पाइएको कोसी जलाधार क्षेत्रमा सन् २०१० मा २ हजार १ सय ६८ वटा हिमताल भेटिएको थियो । अरू जलाधार क्षेत्रमा पनि हिमताल बढेको पाइएको अनुसन्धानकर्ता महर्जनले बताए ।
हिमताल विस्फोटबाट आउने बाढीको बहावको घनत्व १ दशमलव ४७ टन प्रतिघनमिटर अनुमान गरिन्छ । आकारमा ठूला रहेका हिमताल फुटे ढुंगासमेत बगाएर ल्याउने र त्यसले १ सय किलोमिटरसम्म क्षति पु¥याउन सक्छ । नेपालमा प्राकृतिक प्रकोपबाट औसतमा प्रतिवर्ष तीन सय ३३ जनाको ज्यान जाने गरेको छ ।
औसतमा एक करोड ७२ लाख ४० हजार अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको तथ्याङ्क छ  । तल्लो तटीय क्षेत्रमा असर गर्न सक्ने विषयमा जानकार भए पनि आवश्यक तयारीमा भने ध्यान पुग्न नसकेको जलवायुविद् डा. सुदिप ठकुरी बताउछन् ।
इसिमोडका अनुसार नेपालको तापक्रम वृद्धि वार्षिक अधिकतम ०.०५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.००२ डिग्री सेल्सियस छ । यसको असर हिमालय क्षेत्रमा परेको छ ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भएपनि सरकारबाट भने कुनै पहल हुन नसकेको वातावरणीय क्षेत्रका जानकारहरुले बताएका छन् ।
वतावरणविद्हरुका अनुसार हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा चाँदी झै टल्कने सेता हिमालहरु काला पहाडमा रुपान्तरित हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->