बागलुङ, १६ चैत– केही दिनपहिला बागलुङको गलकोटमा आँखाको जाँचका लागि निःशुल्क शिविरको आयोजना गरियो । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा आयोजना भएको शिविरमा ३ सय ५० जनाले आँखाको परीक्षण गराए । उनीहरुमध्ये अधिकांशमा कुनै न कुनै आँखाको समस्या थियो । परीक्षणमा सहभागि स्वास्थ्यकर्मीहरुका अनुसार अधिकांशमा मोतीया विन्दुको समस्या देखा प¥यो । १ सय जनामा देखिएको मोतियाबिन्दुको समस्यामध्ये ६० जना अनिवार्य चस्माको प्रयोग गर्नुपर्ने अवस्थाका भएको शिविरमा सहभागि नेत्र सहायक गणेश महतोले बताए । बागलुङ जेसीजको आयोजनमा भएको शिविरमा अधिकांश सानो उमेरका बिरामीहरु जाँचकालागि पुगेका थिए । चेकजाँचमा १५ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखियो । धौलागिरी आँखा अस्पताल बागलुङले हरेक महिनाको २७ गते मोतियाबिन्दुको अपरेशन गर्छ । अन्य दिन आँखाका सबै समस्याको जाँच र औषधोपचार हुने गरेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लाबाट यहाँ बिरामी आउँछन् । हरेक दिन ३० देखि ४० जनासम्म बिरामी आउने अस्पतालले पछिल्लो समय आँखाका बिरामी बढेको तथ्यांक उतारेको छ । सानै उमेरका बालबालिकामा समेत आँखाको समस्या देखा पर्न थालेका छन् । अस्पतालमा आउने बिरामी र शिविरहरुबाट पहिचान हुने बिरामीको तथ्यांक समेत केलाउँदा आँखामा समस्या भएका बालबालिकाको संख्या बढ्दो छ । बागलुङमा पछिल्लो समयमा आँखाका बिरामीहरुको संख्या बढ्दै गैरहेको पाइएको छ । बालबालिका जस्तै सबै उमेरका व्यक्तीहरुमा आँखाको समस्या बढ्दै गैरहेको छ । बढ्दो मोबाईल, ल्यापटपको प्रयोग, अस्वस्थ्य खानपान लगायतका कारणले आँखामा समस्याहरु देखिने गरेको सरोकारवाला बताउँछन् । टेलीभिजन नजिकबाट हेर्ने, लामो समयसम्म मोबाईल चलाईराख्ने जस्ता क्रृयाकलापले बालबालिकामा आँखाको समस्या बढ्दै गैरहेको बताए । नेत्र ज्योति संघ बागलुङले नेत्रज्योती दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समेत प्रबिधिको प्रयोग बढ्दा आँखामा समस्या आएको भन्दै आँखा जोगाउन आग्रह गरे । धुलो र धुँवाका कारणले पनि आँखामा समस्या आउने गरेको नेत्र सहायक गणेश महतोले बताए । आंशिक मोतिबिन्दु, आँखा पाक्ने, पर्दासम्बन्धी बिरामी,नशा सुक्ने,आखाँको नानमिा फुला पर्ने र आखाँ चिलाउने, बिझाउने जस्ता समस्या जाँचका क्रममा भेटिने गरेको महतो बताउँछन् । ‘हामिले आँखा बचाउन सकेनौ भने सस्या आईपर्छन्’ नेत्र सहायक गणेश महतो भन्छन्,‘दैनिक क्रियाकलापमा ख्याल गर्नुपर्ने देखिन्छ ।’





