बेनी १९ चैत– म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदुषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केही दिन यता देशैभरि वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदुषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् ।
वायु प्रदूषणका कारण मंगलबारसम्म सामान्य अवस्थामा रहेकोमा बुधबार आँखा उपचार केन्द्रमा समेत आँखा पोल्ने समस्या लिएर आउने बिरामी भेटिएको नेत्रज्योती संघ म्याग्दीद्वारा सञ्चालित आँखा उपचार केन्द्रका प्रमुख दिनेश बानियाँले बताए । ‘आँखा चिलाउने समस्या लिएर ५ जना बिरामी आउनुभएको थियो, उहाँहरूको आँखामा कुनै समस्या नदेखिएपछि प्रदुषणकै कारण हुनसक्छ,’ प्रमुख बानियाँले भने । नियमित आउने बिरामीभन्दा बुधबार आँखा पोल्ने समस्याका बिरामी आएको बताउँदै समान्य अवस्था भन्दा फरक रहेको आँखा उपचार केन्द्रले जनाएको छ ।
त्यस्तै बेनी अस्पतालमा रहेको आँखा उपचार केन्द्र र पश्चिम म्याग्दीको दरबाङमा रहेको रेडक्रस सोसाईटीको आँखा केन्द्रमा समेत आँखा सम्बन्धी समस्या लिएर आएका बिरामीको संख्या सामान्य अवस्थामा भन्दा धेरै रहेको बताइएको छ । पछिल्लो ३ दिन यताकै तुलनामा सदरमुकाम बेनी आसपासको क्षेत्र तुवाँलो छपक्कै छोपेको छ ।
वन तथा वातावरण विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्दुविक्रम जोशीले काठमाडांै आसपासको क्षेत्रबाट पश्चिम तर्फ फैलिएको ग्याँसका कारण आँखा पोल्ने समस्या देखिएको हुनसक्ने बताए । ‘काठमाडौं क्षेत्रमा केही सुधार आएको छ, म्याग्दी जिल्लाको अवस्था मात्रै हेर्न मिल्दैन्, हामीले पोखरा बेस भएर हेर्ने गरेका छौं,’ प्रवक्ता जोशीले भने ।
वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधी प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रवक्ता जोशीको सुझाव छ । एक्युआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको अवस्थामा दम, थाँती लगायतका समस्या भएका बिरामी, बालबालिकालाई अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्न समेत मन्त्रालयका प्रबक्ता जोशीले अनुरोध गरे ।
‘आँखा पोल्ने समस्या विषाक्त हावाले हो, हेल्चक्य्राइँ गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ,’ प्रवक्ता जोशीले थपे । बुधबार दिउँसो पोखराको वायुको गुणस्तरको सूचकांक (एक्युआई) ९७.२८७ छ । यो अवस्थालाई समान्य लिन नसकिने उनले बताए । बुधबार दिउँसो २ बजे म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको एक्युआई ८७ भन्दा बढी मापन गरिएको थियो ।
यता बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले वायु प्रदूषण सामान्य अवस्थामा नफर्किदासम्म सतर्कता अपनाउनुपर्ने बताए । ‘अहिलेको अवस्थामा सावधानी अपनाउनुपर्छ, वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने अध्यायनले समेत देखाएको छ,’ डा. बस्ताकोटीले भने ।





