तनहुँ, ३० चैत– मिछुर्लुङकी माया थापाले खानेपानी जोहोमा भोगेका सास्ती भनिसाध्य छैन । पानीको लाइन पर्खिंदै कति रात कुवा र पँधेरोमा बिताउनुप¥यो, गन्ती छैन । गाउँमा बिजुलीको लाइन थिएन । हातमा टर्च लाइट हुने कति नै पो हुन्थे र ? अध्याँरो रातमा गाग्रोमाथि ग्रागो खापेर छामछुम गर्दै पानी ओसारेको उनी कहिल्यै बिर्सन सक्दिनन् ।
तर, त्यो दुःख २०६५ सालपछि उनले र उनका गाउँलेले व्यहोर्नु परेन् । गोर्खा वेयलफेयर सोसाइटीको ग्रामिण खानेपानी परियोजनाअन्तर्गत गाउँका सबैलाई पायक पर्ने गरी १२ वटा सार्वजनिक धारा जडान गरिदिएपछि सुखका दिन सुरु भए । आलोपालो धारामा पानी भरेर चलाए ।
तर, २०७२ सालको भुकम्पको धक्काले खानेपानीको मुहानमा गडबडी भयो । पहिलाको तुलनामा मुहानमा कम पानी देखियो । त्यसैको प्रभाव धारामा प्रसस्त पानी आउन छोड्यो । धारामा जति पानी आउँथ्यो, त्यसैलाई सबै गाउँलेले मिलाएर बाँड्नुपर्ने स्थिति आयो । ‘चैत बैशाखमा कहिलेकाहीँ एक–दुई ग्रागी मात्रै पाइन्थ्यो,’ थापा सुनाउँछिन् ।
भीमाद नगरपालिका ५ मा पर्ने मिछुर्लुङमा खानेपानीको समस्या बढ्न थालेपछि बजेट खोज्दै गाउँलेले सरोकारवाला निकायलाई गुहारे । सुनवाई भएन । संघीयता आएसँगै उनीहरुले प्रदेश सरकारलाई गुहारे । गण्डकी प्रदेश सरकारले आफ्नो ५ वर्षे कार्यकालमा हरेक बस्तीमा आधारभूत खानेपानीको व्यवस्था मिलाउँदै ‘एक घर ः एक खानेपानी धारा’को नीति अवलम्बन ग¥यो । त्यही अनुरुप मिछुर्लुङ गाउँमा खानेपानीको बजेट प¥यो ।
हाल मिछुर्लुङ धरादी खानेपानी आयोजनामार्फत यहाँका हरेक घरमा खानेपानीको धारा जडान गरिएको छ । गाउँभन्दा ५ सय ७० मिटर तल रहेको धरादीको मुलबाट सोलारमार्फत् लिफ्टिङ गरी गाउँका ७२ घरमा धारा जडान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेलले बताए । आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । यो आयोजनामा ६८ लाख ४६ हजार २ सय ४३ रुपैयाँ लगानी भएको उनले जानकारी दिए । जसमध्ये गण्डकी प्रदेश सरकारको ५७ लाख ८४ हजार ९ सय ३ रुपैयाँ व्यहोरेको छ ।
स्थानीय उपभोक्ताले १० लाख ६१ हजार ३ सय ४० रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए । ‘घरमै खानेपानी आउने भएपछि खुसीले नै श्रमदान ग¥यौं,’ स्थानीय महिला भीमकुमारी रानाले भनिन् । उनले पालो कुरेर पानीको जोहो गर्न नपरेपछि समयको बचतसँगै घरयासी काममा गाउँका महिलालाई सजिलो भएको बताइन् ।
‘जो गर्दा नि पानी चाहिने । पानी नभएपछि अफ्ठ्यारो हुन्थ्यो,’ रानाले भनिन्, ‘पानी भएपछि समयको बचत हुँदो रै’छ । त्यसले गर्दा समयमै काम सक्छौं ।’ घरको र आफ्नो सरसफाइमा ध्यान दिन सकेको उनको भनाइ छ ।
मिछुर्लुङ पर्यटकीय सम्भावनाले भरिपूर्ण गाउँ हो । यहाँ २०७१ भदौबाट होमस्टे सञ्चालन गरिएको छ । घरमा पाहुना आउँदा खानेपानीको अभावले समस्या हुन्थ्यो । अब घर–घरै खानेपानीको धारा भएपछि होमस्टे सञ्चालनमा टेवा पुग्ने मिछुर्लुङ सामुदायिक होमस्टे अध्यक्ष नरेन्द्र रानाको विश्वास छ ।
२०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ माघ २९ गते मिछुर्लुङ धरादी खानेपानी आयोजना सम्झौता भएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले आयोजनाको काममा ढिलाइ भयो र हालै योजनाको उद्घाटन गरिएको छ ।
घरघरै खानेपानीको धारा पाएपछि मिछुर्लुङका गाउँलेले उद्घाटनको दिन खुशियाली मनाए । मगर समुदायको बाहुल रहेको यहाँका युवाहरुले खैँजेडी तालमा श्वर मिलाउँदै कौह्रा गाए । युवतीहरु त्यही ताल छमछमी नाचे ।
‘बजेट आयो प्रदेशबाट खानेपानी नाउैमा
बेसीको पानी आयो गावैंमा ।’





