पोखरा, ३० चैत– लमजुङ युथ सोसाइटीले लमजुङमा जन्मेका र पोखरामा रही नेपाल सरकारका महत्वपूर्ण ओहोदामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उनीहरुले सो पदमा रही राष्ट्रलाई दिएको योगदानको मूल्याङ्कन तथा लमजुङको इज्जत बढाएकोले सम्मानित गरिएको युथ सोसाइटीका अध्यक्ष सनतकुमार श्रेष्ठले बताए ।
सोसाइटीले कास्की जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई, गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता राजेन्द्र घिमिरे,पश्चिम पृतनाका सहायक पृतनापति शिशिर केसी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरुले राष्ट्रसेवकको रुपमा कर्तव्य निर्वाह गर्नु आफ्नो कर्तव्य भएको बताएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वकार्यवाहक प्रमुख गणेशराज जोशीको प्रमुख आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमकै अवसरमा नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।





