यो काँचो कटहरको सिजन हो । तरकारी बजारमा काँचो कटहर देखिन थालेको छ । पाकेपछि गुलियो हुने काँचो कटहरको मीठो तरकारी चाख्नु भएको छ भने ठीकै छ, नत्र चाखेर हेर्नुहोस्, कटहरको तरकारी मासुलाई माथ गर्ने खालको हुन्छ । काँचो कटहरबाट चोप आउँछ । काँचो कटहरलाई सुरुमा ताच्छ्नुपर्छ । ताच्छ्ने बेला निस्कने चोप हातमा नलागोस् भन्नका लागि सुरुमा हातमा तोरीको तेल लगाउनुहोस् । कटहरमा एउटा किला ठोक्नुहोस् र त्यसमा समातेर बिस्तारै ताच्छ्नुहोस् । ताछेको कटहरलाई टुक्राटुक्रा बनाएपछि बल्ल पकाउने मेसो सुरु हुन्छ ।
आवश्यक सामग्री
दही – आधा कप (फिटेको)
काँचो कटहर – (आवश्यकता अनुसार ताछेर इच्छा अनुसारको टुक्रा बनाएको)
अदुवा – १० ग्राम (पिसेको)
लसुन – ८ ग्राम( पिसेको)
भटमासको तेल – १०० ग्राम
प्याज – ३०० ग्राम
गोलभेडा – २०० ग्राम
बेसार – १ चम्चा
खुर्सानीको धूलो – २ चम्चा
नुन – २ चम्चा (सानो चम्चाको )
गरम मसाला – १ चम्चा
पानी – ३ कप (चिया कपको)
तेजपात – ४ वटा
ल्वाङ – ५ वटा (पिसेको)
अलैची – २ वटा ( पिसेको)
सुकमेल – ४ वटा( पिसेको)
हरियो धनियाँ – २ मुठा (भुजुरी बनाएको)
बनाउने विधि :
– प्यान वा बाक्लो भाँडोमा तेल तताउने । तेल तातेपछि कटहर हाल्ने । रातो भएपछि उतार्ने तेल त¥याएर कुकुरमा राख्ने, कुकुर बसाल्ने र प्याज फ्राई गर्ने ।
– सुनौलो कलर आएपछि माथि उल्लेखित गरम मसला बाहेक सबै मरमसाला, गोलभेडा राखेर एकछिन फ्राई गर्ने ।
– नुन खुर्सानी राखेर चलाउँदै पकाउने । गोलभेडा पाकेपछि ठूलो चम्चाले एकएक गरी दही राख्दै चलाउँदै जाने ।
– दही मसालामा मिलेपछि फ्राई कटहर राखिदिने र तीन कप पानी राख्ने । बिर्को लगाएर राम्रो आँच दिएर पाँच मिनेट पकाउने ।
– कुकर झिक्ने, सेलाएपछि बिर्को खोल्ने र गरम मसाला छरी एक पटक चलाएपछि कटहरको तरकारी तयार हुन्छ । नुन कडा खानेहरुको लागि थप्न सकिन्छ । खाने बेलामा तेजपात झिकेर खाने ।
तपाईं आफ्नो घरमा चलेको परम्परा अनुसार सोझै प्रेसर कुकर वा बाक्लो कसौंडीमा तरकारी पकाउन सक्नुहुन्छ ।
फाइदाहरु :
कटहर बहुउपयोगी फल हो । कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ । तरकारीको रुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ ।





